कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नाराले मात्र राष्ट्रियता नजोगिने बताएका छन्।
१५ औं योजनाको मस्यौदामाथि सुझाव संकलनका लागि राष्ट्रिय योजना आयोगले बुधबार वीरेन्द्रगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले राष्ट्रियता जोगाउन नागरिकले आफ्नो कमाइ र मेहेनत आफ्नै ठाउँमा लगानी गर्नुपर्ने बताए।
‘चाइनाका मानिस यहाँ काम गर्न आएका छन्। उनीहरूले आफ्नै देशको बंगुरको मासु ल्याएर खाइरहेका छन्, किनभने उनीहरू आफ्नो कमाइ आफ्नै देशमा खर्च गर्न चाहन्छन्,’ मुख्यमन्त्री शाहीले भने, ‘हामी मुलुकभर परनिर्भर छौं, अर्काको देशबाट आयातित खानेकुरा खान्छौं। समुन्द्रका माछा कर्णालीमा ल्याएर खानु राष्ट्रियता हो ?’
राष्ट्रप्रतिको सम्मान गर्न र राष्ट्रियता जोगाउन सबैले सामाजिक हितका लागि आ–आफ्नो ठाउँबाट काम गर्नुपर्नेमा उनले जोड दिए।
श्रमको सम्मान गर्ने बानी बसाल्ने योजनाका साथ कर्णाली प्रदेश सरकारले घोषणा गरेको श्रम दिनको गलत टिप्पणी गर्नु दुखद् भएको उनले बताए।
‘श्रमको सम्मान गर्न र सामाजिक कामका लागि जुट्नुपर्छ भन्ने सन्देश दिन सरकारले श्रम दिन मनायो,’मुख्यमन्त्री शाहीले भने, ‘यो बेला मुख्यमन्त्रीले सरसफाइ गरेको देखेर टिप्पणी गरे। अनि यस्ता मानिसले राष्ट्रियताका गफ मात्रै किन हाँक्ने ? काममा जुटौं, श्रमको सम्मान गर्न सिकौं।’
मुख्यमन्त्री शाहीले कर्णालीलाई समृद्ध बनाउन उत्पादनमा जोड दिनुपर्ने बताए। ‘कतिपय देशहरू घाम र हावा बेचेर सम्पन्नशाली भएका छन्,’ उनले भने, ‘हामी प्रकृतिका रूपले साह्रै धनी छौं। केही ६ महिना घाम नलाग्ने देशहरू छन्, तिनै देशबाट उत्पादित खाद्यान्न ल्याएर हामी किनेर खान्छौं। अब यसरी हुँदैन हामीले यहीँको प्रकृतिलाई प्रयोग गरेर उत्पादन बढाउनु जरुरी छ, त्यसका लागि सरकारले पनि विकासका मोडल तयार पार्नुपर्छ।’
साना योजना नपठाउन आयोगलाई आग्रह
मुख्यमन्त्री शाहीले १ अर्बभन्दा मुनिका योजनाहरू कर्णाली प्रदेशमा नपठाउन राष्ट्रिय योजना आयोगलाई आग्रह गरेका छन्।
कर्णाली प्रदेश सरकारले प्रदेशमा मेगा प्रोजेक्ट मात्र सञ्चालन गर्ने बताउँदै सानातिना योजनाहरू प्रदेशलाई नपठाउन आग्रह गरे।
‘कर्णाली प्रदेशमा प्रदेश सरकाले १ अर्बमाथिका मेगा प्रोजेक्ट मात्र सञ्चालन गर्नेछ,’ उनले भने, ‘यही अनुसार राष्ट्रिय योजना आयोगले पनि कर्णालीको विकासका लागि ठूला आयोजनाहरू कार्यान्वयनका लागि पठाओस्।’
प्रदेश सरकारले जनतालाई लाभ मिल्ने खालका जनमुखी योजना बनाउने पनि उनले बताए।
‘विद्युत र स्वास्थ्यलाई जोड दिनुहोस्’
यसैगरी कर्णाली प्रदेशका लागि विद्युत र स्वास्थ्यलाई मध्यनजर गर्दै सम्बन्धित योजनाहरू बनाउन मुख्यमन्त्री शाहीले राष्ट्रिय योजना आयोगलाई आग्रह गरेका छन्। कर्णाली प्रदेशका धेरैजसो भागका नागरिक विद्युतबिना अँध्यारोमा बस्न बाध्य भएकोले सबै प्रदेशका गाउँगाउँमा विद्युत पुग्नेगरी १५ औं योजनामा समावेश गर्न उनले आग्रह गरे।
‘बिजुलीको पावर नभएकैले प्रदेशको राजधानी सुर्खेतमा समेत एसीले हावा दिन फाल्दैन, उद्योगहरू बाह्रै महिना चल्दैनन्,’ मुख्यमन्त्री शाहीले भने, ‘अझ धेरै गाउँहरू त अँध्यारोमा छन्, यो प्रदेशका ती गाउँहरूमा केन्द्रीय विद्युत पुग्नेगरी योजना बनाउनुस्।’
प्रदेशको राजधानीमा मात्र कम्तीमा १३२ केभीए बिजुली आवश्यक पर्ने भएकाले त्यसअनुसार योजना बनाउन पनि उनले आयोगलाई आग्रह गरे।
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका लागि आवश्यक पर्ने विद्युतका लागि बुटवलदेखि सुर्खेतको छिन्चुसम्म ४०० केभीए प्रसारण लाइन जडान गर्नेगरी १५औं योजनामा समावेश गर्न आयोगलाई सुझाव दिए ।
आयोगले तयार पार्न लागेको १५ औं योजनामा कर्णालीलाई समृद्ध र कर्णालीका जनतालाई सुखी बनाउने खालका योजनाहरू समावेश गर्न उनले सुझाव दिए। कर्णालीको भौगोलिक विकटताका कारण धेरैजसो नागरिकको पहुँच स्वास्थ्य क्षेत्रसम्म पुग्न नसकेकोले एयर एम्बुलेन्स उपलब्ध हुनेखालका योजनाहरू बनाउन उनको सुझाव थियो ।