प्रदेश नं २ का मुख्यमन्त्री र भौतिक पूर्वाधार विकास मन्त्रीले संयुक्त रूपमा शहीद पार्कको शिलान्यास गरेका छन्।
प्रदेश सरकारले वीरगञ्जको घन्टाघरमा निर्माण गर्न लागेको मधेसी शहीद पार्कको शिलान्यास संघीय समाजवादी फोरम र राजपाको तर्फबाट प्रदेश सरकारका प्रमुखहरूले शहीद पार्कको शिलान्यास गरेका हुन्।
नेपाली कांग्रेसले मधेसी पार्क नामाकारण विरोध गरे पनि वीरगञ्जको घण्टाघर छेउमा रहेको महानगरपालिकाको स्वामित्वममा जग्गामा पार्कको शिलान्यस बिहिबार बिहान गरिएको हो।
सहरी विकास तथा भवन डिभिजन कार्यालय वीरगञ्जले आयोजना गरेको शिलान्यास कार्यक्रमको मंगलबार पत्रकार सम्मेलनमार्फत् नेपाली कांग्रेसले पर्साले विरोध गरेको थियो।
उसले बीपी उद्यानको नामाकरण भएको महानगरपालिकाको स्वामित्वमा रहेको उक्त जग्गामा समन्वय नै नगरी प्रदेश सरकारले मधेसी शहीद पार्क निर्माण गर्न लागेको भन्दै शिलान्यास गरिए ठूलो भीडन्त हुने जनाएको थियो ।
पहिलो र दोस्रो मधेस आन्दोलनले मधेसी शहीद पार्क नामाकरण गर्दै बोर्डहरू लगाए देखि नामाकरणलाई लिएर विवाद हुँदै आएको छ।
तर बुधबार कांग्रेसले विरोधमा कुनै कार्यक्रम भने गरेन।
शिलान्यास कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत गद्दीले मधेस आन्दोलनकै बलमा संघीयता र गणतन्त्र आएको कुरा नभुल्न सबैलाई आग्रह गर्दै विकास निर्माणको कार्यमा कांग्रेस, नेकपा लगायतका दललाई जात, धर्म, समुदायभन्दा माथि उठेर राजनीति गर्न आग्रह गरे।
उनले करोडौं मात्रै नभएर अर्बौ लागे पनि शहीद पार्क प्रदेश सरकारले बनाएरै छाड्ने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले ०४६ सालपछिका सरकारमा सहभागी दलका नेताहरूले भाषणमा सुनाउँदै आएको कामको सपना प्रदेश सरकारले गरेको बताए।
उनले वीरगञ्जमा मात्रै नभएर प्रदेश सरकारले सप्तरीको मलेठ, लहान गरी तीन स्थानमा शहीद पार्क बनाउन थालिएको जानकारी दिए।
सो स्थलमा शहीद पार्क निर्माणका लागि तत्कालीन वीरगञ्ज महानगरपालिकाको बोर्डको बैठकले २०६४ सालमै निर्णय गरिसकेको शिलान्यास कार्यक्रममा सहभागी राजपाका महासचिव शिव पटेलको दाबी छ।
आफू तत्कालीन उपमहानगरपालिकाको बोर्ड सदस्य भएकै समयमा शहीद पार्क निर्माण गर्ने निर्णय गराइसकेको उनको तर्क छ।
चालू आर्थिक वर्षमा प्रदेश सरकारले शहीद पार्क निर्माणका लागि ७५ लाख रुपैयाँ बजेट छुट्याएको भने वीरगञ्ज महानगरपालिकाले बृहत डिपिआर तयार गरी संघीय सरकारलाई १ सय २५ करोडको बजेट माग गरेको छ ।