प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले सोमबार बिहान झाडु लगाएर वीरगञ्जको महानगरपालिकाको सरसफाइ गरेका छन्।
प्रदेश सरकारले सुरू गरेको मुख्यमन्त्री स्वच्छता अभियानको आफ्नै गृहमहानगर वीरगञ्जबाट उद्घाटन गर्दै सडकमा उनले झाडु लगाएका हुन्।
प्रदेश सरकारले ‘स्वच्छ मधेस, समृद्ध प्रदेश’को नारासहित सुरू गरेको मुख्यमन्त्री स्वच्छता अभियानको शुभारम्भ वीरगञ्जको घन्टाघरबाट सरसफाइ गर्दै सुरू गरिएको हो।
मुख्यमन्त्रीसहित वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगी, प्रदेश सभाका सदस्य,विभिन्न कार्यालयका प्रमुख सुरक्षाकर्मी , दलका प्रतिनिधि र विद्यालयका विद्यार्थीहरूको टोलीले घण्टाघर, माइस्थान, आदर्शनगर, विर्ता, नारायणी अस्पताल क्षेत्र हुँदै वीरगञ्जको विभिन्न स्थानहरूमा सरसफाइ गरेको छ।
‘वीरगञ्ज महानगर प्रथम सरसफाइ महाजागरण अभियान’ नाम दिइएको कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री राउतले सबैको पहिलो आवश्यकता स्वास्थ्य र सरसफाइ नै भएको बताउँदै सरसफाइलाई निरन्तरता दिन सबै वीरगञ्जवासीलाई अनुरोध गरे।
प्रदेश सरकारले मुख्यमन्त्री स्वच्छता अभियानका लागि मात्रै २० करोड रुपैयाँ विनियोजन गरेको छ। प्रदेशका ८ वटै जिल्लामा सञ्चालन हुने अभियानको मुख्य उद्देश्य भनेको सरसफाइबाट स्वस्थ नागरिक उत्पादन गर्ने रहेको अभियानका प्रदेश संयोजक सलाउद्दिन अहमदले बताए।