नेपाल तरूण दलका अध्यक्ष जीतजंग बस्नेतले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन गृहमन्त्री रामबहादुर थापाका छोरालाई पनि अनुसन्धानको दायरमा ल्याउनुपर्ने बताएका छन्। सरकारको विरोधमा आइतबार वीरेन्द्रनगरमा भएको कर्णाली प्रदेशस्तरीय कार्यक्रममा बोल्दै बस्नेतले केही मानिसहरूलाई हत्याराबारे थाहा भएको बताए।
‘सरकारको क्रियाकलापले गर्दा ती मान्छेहरू बोल्न सकेका छैनन्,’ बस्नेतले भने, ‘कञ्चनपुरकी निर्मला पन्तको हत्या कसले गरेको हो कतिपयलाई थाहा छ तर बोल्न सकेका छैनन्, निर्मलाको हत्यारा पत्ता लगाउने हो भने गृहमन्त्रीका छोरालाई पनि अनुसन्धान गर्नुपर्छ।’
गृहमन्त्रीका छोरा घटनाका बेला कञ्चनपुरमा रहेकोले उनमाथि अनुसन्धान गर्नुपर्ने उनको जिकिर छ।
‘त्यो घटना भएका बेला गृहमन्त्री छोरा कहाँ थिए? जवाफ चाहियो,’ उनले भने, ‘यसबारेमा किन अनुसन्धान गर्न सकिएको छैन ? सरकार हत्यारालाई बचाउनेतर्फ लाग्ने हो भने भोलिका दिनमा तरूण दलले निर्मलाका हत्यारालाई सडकमा ल्याउनु नपरोस्।’
अध्यक्ष बस्नेतले सरकारले देश र जनतालाई मिच्ने काम गरिरहेको आरोप लगाए । जनताको बहुमत पाएर गठन भएको कम्युनिष्ट सरकारले जनताका अपेक्षा पूरा गर्नतर्फ लाग्नुको सट्टा नीति नियमविपरित कार्य गर्न लागेको उनको तर्क छ। कांग्रेसको नेतृत्वमा संविधान बनेको भन्दै उनले संविधानलाई मिचेर नेकपाको वर्तमान सरकार कार्य गरिरहेको बताए ।
‘कांग्रेसको नेतृत्वमा संविधान बनेको हो। आज जनताको लागि लड्ने शक्ति कांग्रेस हो,’ उनले भने, ‘यो संविधानविपरित वर्तमान सरकार क्रियाकलाप गरिरहेको छ । कम्युनिष्टको सरकरको नेतृत्वमा देश बन्दैन, देश बनाउन कांग्रेस चाहिन्छ।’
तरूण दल सुर्खेतको अगुवाइमा भएको प्रदर्शनमा प्रदेशका विभिन्न जिल्लाहरुबाट कार्यकर्ताको उपस्थिति थियो।