नेपाली कांग्रेसको भातृ संगठन तरुण दल सुर्खेतले वर्तमान सरकारको क्रियाकलापविरूद्ध प्रदेशस्तरीय विरोध र्याली गर्ने भएको छ।
सरकारले गरेको वर्तमान कार्यमा असन्तुष्टी जनाउँदै तरुण दलको केन्द्रीय कार्यक्रम अनुसार आइतबार तरुण दलले सुर्खेतमा पनि विरोध प्रदर्शन गर्न लागेको हो।
वर्तमान सरकारको अधिनायकवादी चरित्र, भ्रष्टाचार, निर्मला पन्त हत्या काण्डलगायतका गैरकानुनी र अलोकतान्त्रिक क्रियाकलापविरूद्धमा देशका सबै प्रदेशहरूमा जस्तै सुर्खेतमा पनि कर्णाली प्रदेशस्तरीय विरोध कार्यक्रम गर्न लागिएको तरुण दल सुर्खेतले जनाएको छ।
र्यालीका क्रममा सरकारले पछिल्लो समय महँगी वृद्धि गरेको, बलात्कारी र भ्रष्टाचारीलाई संरक्षण गरेको, डा. गोविन्द केसी अनसन बसे पनि दुई तिहाइको भरमा चिकित्सा शिक्षा विधेयक पारित गरेको लगायतका विषयमा प्रदर्शन गरिने तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले बताए।
उनका अनुसार आइतबार बिहान पार्टी कार्यालयबाट र्याली प्रारम्भ भई बजार परिक्रममा गरिने छ।
‘वर्तमान सरकारका कारण देशमा आएको परिस्थितिलाई मध्यनजगर गर्दै तरुण दलले विरोध र्याली गर्न लागेको हो’, तरुण दल सुर्खेतका अध्यक्ष विष्टले भने, ‘सरकारको अलोकतान्त्रिक क्रियाकलापविरूद्ध विरोध प्रदर्शन गर्न लागेका हौं। केन्द्रीय कमिटीको कार्यक्रम भएकाले हामी केन्द्रकै निर्देशन अनुसार कार्यक्रम गर्नेछौं।’
कार्यक्रमलाई सम्पन्न गर्न तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेत सुर्खेत आउने भएका छन्। अध्यक्षसँगै उपाध्यक्ष उत्तम चापागाईँ, महासचिव भुपेद्रजंग शाहीलगायतका पदाधिकारीको उपस्थिति रहने विष्टले जानकारी दिए।
विरोध प्रदर्शनका क्रममा सुर्खेतमा २० हजार कार्यकर्ता सडकमा उतार्नेगरी अभ्यास भैरहेको अध्यक्ष विष्टले बताए।
‘कर्णाली प्रदेशको राजधानी भएकाले तरुण दल सुर्खेतले यो कार्यक्रमको जिम्मा लिएको छ,’ विष्टले भने, ‘भौगोलिक कठिनाइका कारण प्रदेशका सबै जिल्लाका कार्यकर्ता सहभागी हुन नसक्ने भए पनि हुन सक्ने जिल्लाहरूबाट २० हजार कार्यकर्ता सहभागी हुनेगरी अभ्यास गरिरहेका छौं।’
बहुमत प्राप्त वर्तमान कम्युनिष्ट सरकारले जनपक्षीयभन्दा जनभावनाविपरीत काम गरेकोले त्यसको विरोधस्वरूप नेपाल तरुण दल सुर्खेतले २० हजार कार्यकर्ताको संलग्नतासहित कार्यक्रम गर्न लागिएको उनले बताए।
‘बहुमत पाएको कम्युनिष्ट सरकारले जनभावनाविपरीत काम गरिरहेकाले विरोधस्वरूप प्रदेशस्तरीय कार्यक्रम सुर्खेतमा गर्न लागेका छौं,’ तरुण दल सुर्खेतका अध्यक्ष विष्टले भने, ‘कम्युनिष्ट सरकार नसच्चिए विरोधका कार्यक्रमलाई थप सशक्त बनाइनेछ।’