प्रतिनिधि सभाको मंगलबारको बैठकमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदबीच धकेलाधकेल भएको छ।
१५ मिनेट स्थगित भएर फेरि बसेको बैठकमा सभामुख कृष्णबहादुर महराले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई चिकित्सा शिक्षा विधेयक पेश गर्न अनुमति दिएका थिए।
त्यसअघि वेलमा पुगिसकेका कांग्रेस सांसदले मन्त्री पोखरेललाई रोक्न खोजेपछि धकेलाधकेल भएको हो।
मन्त्री पोखेरललाई रोष्ट्रमसम्म लैजान नेकपा प्रमुख सचेतक देव गुरूङ र सांसद खगराज अधिकारी सँगैआएका थिए। कांग्रेस सांसदहरूले मन्त्री अधिकारीलाई रोक्न खोजेपछि दुई पक्षबीच धकेलाधकेल भएको हो। धकेलाधकेलमा नेकपाका अरू सांसद पनि सहभागी भएका थिए।
धकेलाधकेलपछि सभामुख कृष्णबहादुर महराले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए।
यसअघि आजको पहिलो बैठक सुरू हुनासाथ कांग्रेस सांसद प्रकाशमान सिंहले आफ्ना पूर्वसभापतिहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका दुई अस्पताल संघीय सरकारमातहत राख्ने निर्णय मन्त्रिपरिषदबाट नभएसम्म संसदका कुनै कामकारबाही अघि बढ्न नदिने बताएका थिए।
उनले बोलिसकेपछि कांग्रेस सांसदहरू बेल घेराउ गर्न गए।
सांसदहरू देवप्रकाश तिमल्सेना र रंगमति शाही अग्रपंक्तिमा थिए। कांग्रेस सांसदहरूलाई बेलको बीचमा नपुग्दै मर्यादापालकले रोके।
त्यसपछि सांसदहरूले संसदको मर्यादा कायम गर्न भन्दै नाराबाजी गरे।
सांसद मीनेन्द्र रिजालले भने- बेलमा कहाँसम्म आउने भन्ने मर्यादापालकले तय गर्ने। यो सभामुखको आदेश हो कि गृहमन्त्रीको? सभामुखले पदको मर्यादा राख्नुपर्छ।
सत्तापक्षले चिकित्सा शिक्षा विधेयक आज जसरी पनि संसदमा पेस गर्ने तयारी गरेको छ। यसअघि अरू सबै कार्यसूची हटाएर आजको बैठकमा चिकित्सा शिक्षा विधेयक पेस गर्ने र पारित गर्ने कार्यसूचीमात्र राखिएको थियो।
यसैबीच प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध पुर्याएपछि प्रतिनिधिसभा बैठक पुनः शुक्रबारसम्मका लागि स्थगित गरिएको छ।
मंगलबार बोलाइएको प्रतिनिधिसभा बैठक काँग्रेसले १५ मिनेटको अन्तरालमा २ पटक अवरुद्ध पारेपछि संघीय संसद सचिवालयले सूचना टाँस गरी प्रतिनिधिसभा बैठक आगामी शुक्रबार ११ गते अपरान्ह १ बजेसम्मका लागि स्थगित गरेको हो ।
कांग्रेसले पार्टीका पूर्व सभापतिद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको दुई वटा अस्पताल संघीय सरकारको मातहत ल्याउने निर्णय तत्काल गर्न माग गर्दै सोमबारदेखि संसद अवरुद्ध पार्न सुरु गरेको हो।