सुर्खेतको भेरीगंगा नगरपालिका–१२ स्थित छिन्चु स्वास्थ्य चौकीको बाहिरपट्टि एम्बुलेन्स छ। तर, २ वर्षदेखि प्रयोगविहीन।
साविकको गुमीमा रहेको तत्कालीन नेकपा माओवादीको शिविरलाई जिल्ला जनस्वास्थ्य कार्यालयले उक्त गाडी दिएको थियो। सेना समायोजनपछि शिविर हट्ने भए पनि जनस्वास्थ्य कार्यालयलाई फिर्ता गरिएको उक्त गाडी छिन्चु स्वास्थ्य चौकीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्न २०६९ सालमा दिइएको थियो।
स्वास्थ्य चौकीले करिब ४ वर्ष उक्त गाडीलाई पेन्टिङ गरी एम्बुलेन्सका रूपमा सेवा दियो। त्यसपश्चात गाडी बिग्रिएपछि अहिले थन्किएको छ। गाडी बनाउन र नयाँ एम्बुलेन्स किन्न लगभग बराबर मूल्यपर्ने भएपछि उक्त गाडी थन्काइएको छिन्चु स्वास्थ्य चौकीका ईन्चार्ज नेत्र देवकोटाले बताए ।
छिन्चु स्वास्थ्य चौकी बाहिरपट्टिको एम्बुलेन्स नाउँको प्रयोगविहिन गाडीबाहेक अहिलेसम्म भेरीगंगा नगरपालिकामा एउटा पनि एम्बुलेन्स छैन। नगरभित्र एम्बुलेन्स नहुँदा आपतकालीन सेवा लिन आउने सेवाग्राही समेत घटेको छिन्चु स्वास्थ्य चौकीले जनाएको छ ।
सुर्खेतको पूर्वी क्षेत्रमा पर्ने भेरीगंगा नगरपालिका सुर्खेतको विकसितमध्येको अर्को स्थानीय तह हो। जनसंख्या, व्यवसाय, विकासलगायतका सबै दृष्टिकोणले भेरीगंगा वीरेन्द्रनगरपछिको दोस्रो नगरपालिका हो। तर, सोही नगरपालिकाभित्र हालसम्म पनि स्वास्थ्य सेवामा सहजताका लागि एम्बुलेन्स नहुँदा समस्या हुने गरेको छ ।
एम्बुलेन्स नहुँदा स्थानीयले आपतकालीन सेवा लिन अटोरिक्सा प्रयोग गर्नुपर्ने बाध्यता रहेको भेरीगंगा नगरपालिका–१२ की लक्ष्मी पौडेलले बताइन्।
‘नगरपालिकाका कुनै पनि ठाउँमा एम्बुलेन्स छैन। कहिलेकाहीँ वीरेन्द्रनगरबाट एम्बुलेन्स मगाइन्छ,’ उनले भनिन्, ‘नत्र भने डेलिभरी, ठूलो घाउचोटलगायतका ठूला समस्यामा अटो प्रयोग गर्नुपर्छ। अझ विकट बाटोमा त निजी गाडी बोलाउनुपर्छ। त्यही पनि कहिलेकाहीँ त पाइँदैनन्।’
भेरीगंगा नगरपालिकाका उपमेयर रेणु आचार्यले एम्बुलेन्स नहुँदा नगरका जनताले भोग्नुपरेको समस्या समाधानका लागि स्थानीय सरकार प्रयासरत रहेको बताएकी छन्। नगरपालिकाले तीनवटा एम्बुलेन्स सञ्चालनका लागि बजेट छुट्याएको बताउँदै उनले चालू आर्थिक वर्षभित्र एउटा मात्र भए पनि सञ्चालनमा ल्याउने बताइन्।
‘जनताले एम्बुलेन्स नभएकै कारण बिरामी हुँदा समस्या भोग्नुपरेको हामीले पनि महशुस गरेका छौं,’ उपमेयर आचार्यले भनिन्, ‘तीन वटा एम्बुलेन्स सञ्चालनका लागि भनेर नगरपालिकाबाट १५ लाख रुपैयाँ छुट्याएका छौं। प्रदेश सरकारसँग समन्वय गरेर हामीले हाम्रो बजेट र प्रदेश सरकारको सहयोगमा एम्बुलेन्स सञ्चालन गर्नेछौं।’
उनले एम्बुलेन्स किन्न भारतीय राजदूतावास र प्रदेश सरकारसमक्ष प्रस्ताव पेश गरिएको बताइन्।
‘एम्बुलेन्स किन्न र हामीले हाम्रो बजेट उल्लेख गरेर प्रदेश सरकार र इण्डियन एम्बेसीसँग प्रस्ताव पेश गरेका छौं,’ उनले भनिन्, ‘एम्बेसीबाट अहिलेसम्म कुनै पनि पत्र आएको छैन, प्रदेश सरकारले के गर्छ थाहा छैन । तर यो आर्थिक वर्षमा एउटा मात्र भए पनि एम्बुलेन्स चाहिँ अवश्य सञ्चालन गर्छौं।’
प्रदेश सरकारले सहयोग नगरे नगरपालिकाले मात्र भए पनि एम्बुलेन्स सञ्चालन गर्ने आचार्यले बताइन् ।