कर्णाली प्रदेशमा माघ १ गते सार्वजनिक बिदाको घोषणा गरिएको छ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मगरहरूको नयाँ वर्षको रूपमा लिइने माघ १ गते सार्वजनिक बिदा दिने घोषणा गरेका हुन्।
कर्णाली प्रदेशमा मगर समुदायलगायतले मनाउने माघी पर्वको अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेका हुन्।
‘कर्णाली प्रदेशमा मगर समुदायका साथै अन्यले पनि माघी पर्वलाई विशेष दिनका रूपमा मनाउने गरेका छन्’ बुधबारदेखि वीरेन्द्रनगरमा सुरू भएको माघी मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले भने, ‘त्यसैले माघ १ गते प्रदेश सरकारले सार्वजनिक बिदाको घोषणा गर्छ।’
उनले मन्त्रिपरिषद् बैठकमार्फत् औपाचारिक रूपमा बिदा दिने निर्णय गरिने जानकारी दिए ।
मुख्यमन्त्री शाहीले प्रदेश राजधानी वीरेन्द्रनगरमा मगर भाषाको विद्यालय र संग्राहलय स्थापना गर्ने समेत घोषणा पनि गरेका छन्।
‘मगरहरूको भाषा, संस्कृति र पहिचान लोप हुँदै गएकाले प्रदेश राजधानीमा विद्यालय र संग्रहालय स्थापना आवश्यक छ,’ उनले भने, ‘यसका लागि प्रदेश सरकारले आवश्यक बजेट छुट्याएर प्रक्रिया अगाडि बढाउँछ।’
बुधबारदेखि वीरेन्द्रनगरमा सुरू भएको माघे संक्रान्ति मेला। तस्वीरः दिपकजंग शाही/सेतोपाटी