संसदको सार्वजनिक लेखा समितिको उपसमितिले नेपाल वायु सेवा निगमले किनेका दुइटा एयरबसमा ४ अर्ब ३५ करोड ५६ लाख अनियमितता भएको प्रतिवेदन बनाएको छ।
कांग्रेस सांसद राजन केसी संयोजकत्वको उपसिमितिको प्रतिवेदनमा विमान खरिदका विभिन्न चरणमा विभिन्न व्यक्तिको संलग्नतामा भ्रष्टाचार भएको उल्लेख गरिएको छ।
सबैभन्दा बढी अनियमितता विमानको मूल्यमा भएको छ। प्रतिवेदन अनुसार लागत अनुमान तयार गर्दा एयर बस कम्पनीको तत्कालिन मूल्य र छुट रकमलाई नलिई गलत मनसायले ८ वर्ष पुरानो मूल्यमा वार्षिक मूल्यवद्धि समायोजन गरी नयाँ विमानको मूल्यलाई लागत अनुमान बनाइएको प्रतिवेदनमा उल्लेख छ।
नयाँ विमानको मूल्यलाई लागत अनुमान बनाई अमेरिकी डलर ११८,१६३,७७३ निर्धारण गरिएको छ। तर बोलपत्रमा १००० घण्टासम्म उडेको र २०१४ पछि निर्मित पुरानो विमानका लागि सूचना जारी गरिएको छ।
प्रस्ताव मूल्यांकन उपसमितिले प्रस्ताव गरेको सन् २०१६ मा विमानको मुल्य अमेरिकी डलर ८८,०९९,३१७ पर्ने र निगम व्यवस्थापनले निर्धारण गरेको दर २.७६९९ प्रतिशतको मूल्यवृद्धि कायम गर्दा नयाँ विमानको मूल्य अमेरिकी डलर ९३,०४,७४३४.८० पर्ने सुझावलाई वेवास्ता गरी एएआर इन्कले प्रस्ताव पेश गरेको मूल्य अमेरिकी डलर १०४.८ मिलियन स्वीकारी गरिएको प्रतिवेदनमा उल्लेख छ।
‘यसो गर्दा एक जहाजमा ११.८ मिलियनका दरले दुई जहाजमा २३.६ मिलियन डलर नोक्सानी भएको छ,’प्रतिवेदनमा भनिएको छ।
यी पनि पढ्नुस्:
अर्को अनियमितता जहाजको टेक अफ भार घटाउँदा भएको उपसमितिको निष्कर्ष छ।
एएआर इन्क कम्पनीले भार क्षमता २४२ मेट्रिक टन भएको ए३३०-२०० जहाज दिने प्रस्ताव गरेको थियो। एमओयू र खरिद बिक्री सम्झौता गर्दा विमानको प्रस्तावित अधिकतम टेक अफ भार क्षमताभन्दा प्रतिविमान १२ मेट्रिक टन क्षमता कम (२३०) भएका विमान ल्याइयो।
‘आरएफपीमा ११ वटा कम्पनीले प्रस्ताव पेश गर्दा तेश्रो हुने कम्पनीले आफूसँग २३३ मेट्रिक टन भार भएको जहाज मौजुद रहेको र यदि २४२ मेट्रिक टन तौल भएको जहाज आवश्यक भएमा प्रति मेट्रिक टन ३ लाख ५० हजार डलरका दरले थप लागत लाग्ने प्रस्ताव गरेको थियो। यसरी हिसाब गर्दा २३० मेट्रिक टनका जहाज ल्याउँदा निगमलाई ८.४ मिलियन डलर क्षति पुर्याएको छ,’ प्रतिवेदनमा भनिएको छ।
अर्को अनियमितता प्रस्ताव छनौट भएपछि मूल्यवृद्धि गराउने प्रावधान राखेर भएको छ।
निगम सञ्चालक समितिले पुरानो विमान खरिद प्रक्रिया अपनाउँदा ह्रासकट्टी गर्नुको सट्टा नयाँ विमानको खरिदका सन्दर्भमा उत्पादक कम्पनीका लागि मात्र लागु हुने वृद्धि दफाको अधिकतम् सीमा व्यवस्थापनले सिफारिस गरे बमोजिम (२.७६९९%मा नबढ्ने गरी) कायम गरिदिएको छ।
‘एयर बस कम्पनीले सोही वर्षका लागि कायम गरी सार्वजनिक गरेको दर बमोजिम वार्ताबाट टुंगो लगाउने व्यवस्था मिलाइ सार्वजनिक खरिद ऐन २०६३ को वर्खिलाप हुनेगरी प्रस्ताव छनौट भएपछि मूल्य बढाउन सक्ने प्रावधान राखी निगमलाई आर्थिक नोक्सानी हुनेगरी व्यवस्थापनलाई निर्देशन दिएर करिब अमेरिकी डलर ६.८ मिलियन नोक्सानी पुर्याइएको छ,’ प्रतिवेदनमा भनिएको छ।
यस्ता छन् उपसमितिले उल्लेख गरेका अनियमितताका १४ कारण र कारबाही सिफारिश
१. २०६५ को दफा २३६ को उपदफा १(क) बमोजिम नयाँ विमान खरिद गर्नुपर्नेमा २३६ (१)(ख) बमोजिम विमान खरिद गर्ने प्रक्रिया अपनाएको अवस्थामा निगमलाई क्षति पुगेकोले सो कार्यमा संलग्न विमान खरिदका लागि गठित अध्ययन उपसमिति, लागत मूल्य र बोलपत्र सिफारिस तथा स्वीकृत गर्ने पदाधिकारीहरु दोषी रहेकाले उनीहरुलाई तत्काल निलम्बन गरी थप अनुसन्धान गर्न निर्देशन दिने।
२. लागत अनुमान तयार गर्दा एयर बस कम्पनीको तत्कालिन मूल्य र छुट रकमलाई नलिई गलत मनसायले ८ वर्ष पुरानो मूल्यमा वार्षिक मूल्यवद्धि समायोजन गरी नयाँ विमानको मूल्यलाई लागत अनुमान बनाई अमेरिकी डलर ११८,१६३,७७३ निर्धारण गरिएको तर बोलपत्रमा १००० घण्टा सम्म उडेको र २०१४ पछि निर्मित पुरानो विमानका लागि सूचना जारी गरेर निगम संचालक समितिले निगमले पाउने तत्कालिन छुट मूल्य बढी हुनुपर्नेमा निगमलाई नोक्सान हुनेगरी खरिद गरेको अवस्थामा प्रस्ताव मूल्यांकन उपसमितिले प्रस्ताव गरेको सन् २०१६ मा विमानको मुल्य अमेरिकी डलर ८८,०९९,३१७ पर्ने र निगम व्यवस्थापनले निर्धारण गरेको दर २.७६९९ प्रतिशतको मूल्यवृद्धि कायम गर्दा नयाँ विमानको मूल्य अमेरिकी डलर ९३,०४,७४३४.८० पर्ने सुझावलाई वेवास्ता गरी एएआर इन्कले प्रस्ताव पेश गरेको मूल्य अमेरिकी डलर १०४.८ मिलियन स्वीकारी करिब अमेरिकी डलर ११.८ मिलियनका दरले दुई जहाजमा २३.६ मिलियन डलर नोक्सानी भएकोले सोको दोषीहरुबाट भराउन र हाल वहाल रहेका तथा तत्कालिन संचालक समितिका पदाधिकारी लगायत अन्य संलग्नहरुलाई निलम्बन गरी अख्तियार दुरुपयोग गरेकोमा कारवाही गर्न निर्देशन दिने।
३. बोलपत्र मुल्यांकन तथा प्रस्ताव छनौट गर्दा प्राविधिक पक्षलाई आधार नबनाई मूल्यमा आधारित भई छनौट गरिएको प्रस्तावमा मूल्यांकन समितिले प्रस्तावकको गैरकानूनी शर्तहरु नजर अन्दाज गरी निगमलाई आर्थिक क्षति पूर्याएकोले संलग्न मूल्यांकन कर्ता र छनौट गर्ने समितिलाई दण्ड जरिबानाको कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउन सिफारिस गर्ने।
४. निगम संचालक समितिले पुरानो विमान खरिद प्रक्रिया अपनाउँदा ह्रासकट्टी गर्नुको सट्टा नयाँ विमानको खरिदका सन्दर्भमा उत्पादक कम्पनीका लागि मात्र लागुहुने वृद्धि दफाको अधिकतम् सीमा व्यवस्थापनले सिफारिस गरे बमोजिम (२.७६९९५ मा नबढ्ने गरी) कायम गर्दै न्यूनतम सीमा एयर बस कम्पनीले सोही बर्षको लागि कायम गरी सार्वजनिक गरेको दर बमोजिम वार्ताबाट टुंगो लगाउने व्यवस्था मिलाइ सार्वजनिक खरिद ऐन २०६३ को वर्खिलाप हुनेगरी प्रस्ताव छनौट भएपछि मूल्य बढाउन सक्ने प्रावधान राखी निगमलाई आर्थिक नोक्सानी हुनेगरी व्यवस्थापनलाई निर्देशन दिएर करिब अमेरिकी डलर ६.८ मिलियन नोक्सानी पुर्याएकोले उनीहरुबाट सो रकम भराउन तथा कानूनी कारवाही गर्न निर्देशन दिने।
५. प्रस्ताव पेश गर्ने एएआर इन्क कम्पनीले प्रस्ताव गर्दा भार क्षमता २४२ मे. टन भएको ए३३०-२०० जहाज दिने प्रस्ताव गरेकोमा एमओयू गर्दा र खरिद बिक्री सम्झौता गर्दा विमानको प्रस्तावित अधिकतम टेक अफ भार क्षमता भन्दा प्रति विमान १२ मेट्रिक टन क्षमता कम भएका दुई २३० मे. टनका विमान ए३३०-२४३ जस्को भार क्षमता मात्र २३० मे.टन रहेकोमा यस्ले गर्दा निगमलाई अमेरिकी डलर ८.४ मिलियन क्षति पुर्याएकाले कानुनी कारवाही सहित असुल उपर गर्न निर्देशन दिने।
६. निगमको विनियमावली २३६ (१) (झ) बमोजिम खरिद विक्रि सम्झौता गरेपछि मात्र प्रतिबद्धता शूल्क बापतको रकम एमओयूबमोजिम वायुयान आपुर्ति गर्ने कम्पनीलाई उपलब्ध गराउनू पर्नेमा बैंक ग्यारेण्टी समेत नलिई पहिले नै प्रतिबद्धता शुल्क बापतको रकम एएआर कर्पोरेशनलाई भुक्तानी गरी क्षति पुर्याएकोले सो सम्बन्धमा कानुनी कारबाही गर्ने।
७. मिति २०७३-१२-२५ मा बोलपत्र पेश गर्दा प्रस्तावक कम्पनी र उसको कन्सरट्युममा नभएको र पछि स्थापित संकास्पद हाइफ्लाइ एक्स लिमिटेड भनिने विशेष उद्देश्य भएको कम्पनी (जो यही कारोवारका लागि मात्र भनिएको) सँग सार्वजनिक खरिद ऐनको प्रावधान मिचेर निगमको विनियमावलीमा नै नभएको अवस्थामा गैरकानुनी ढंगले खरिद सम्झौता गरी एस्क्रो एजेन्टमार्फत रकम अपचलन गरेको र एयर बस कम्पनीले कति रकम प्राप्त गर्यो र कति रकम अपचलन भयो सो सम्बन्धमा निगमसँग पटक पटक जानकारी माग गर्दा उपलब्ध नगराएको अवस्थामा थप अनुसन्धान गर्न निर्देशन दिने।
८. बोलपत्रमा उल्लेख नै नभएको, खरिद बिक्री सम्झौताको ५.२ भुक्तानीअन्तर्गत सिधै विमान निर्माता कम्पनीलाई रकम भुक्तानी गर्न सहमत हुँदाहुँदै निगमलाई जोखिममा पारी अपारदर्शी ढंगले रकम अपचलन गरेको र एस्क्रो एजेन्ट खडागरेर भुक्तानी गरी सो मार्फत निगमलाई ठूलो आर्थिक नोक्सानी पुर्याएकोले सो रकमको यकिन गरी दोषीलाई कारबाही गर्न र विगो भराउन निर्देशन दिने।
९.निगमले खरिद बिक्री सम्झौतामा सबै रकम एस्क्रो एकाउन्ट वा एयर बस वा एस्क्रो एग्रिमेन्ट अनुसार भनी प्रावधान राखेकोमा सिधै एयर बसलाई रकम पठाउने प्रावधान हुँदाहुदै एस्क्रो एजेन्टलाई १० हजार युरो कमिसन दिन स्वीकार गरी गैरकानुनी रूपमा रकम अपचलन गरेकोमा अख्तीयारको दुरुपयोग गर्ने निगमका पदाधिकारीहरुलाई कारबाही गर्न निर्देशन दिने।
१०.अन्तिम किस्ता भुक्तनीको हकमा, निगमले भुक्तान गरे लगतै एयर बसले बिल अफ सेल जारी गरी हाइफ्लाई एक्सलाई हस्तान्तरण गरेको र हाइफ्लाई एक्सले पनि तत्कालै बिल अफ सेल जारी गरी निगमलाई हस्तान्तरण गरेको अवस्थामा विमान हस्तान्तरण हुँदा सिधै फ्रान्समा नन रजिष्ट्रेशन भई नेपालमा दर्ता भएको तर हाइफ्लाई एक्सको नाममा दर्ता भएको नदेखिएकोले रकम अपचलनका लागि मात्र यो प्रपन्च रचिएको अवस्थामा एयर बस विमान निर्माता कम्पनीले कति रकम पायो, अन्य रकम कता भुक्तानी भयो र कति रकम हिनामिना भए, यो खरिदमा के कति छुट भयो यसबारे थप अनुसन्धान गरी के कति रकम निगमले गुमाएको छ यसको असुल उपर गर्न र संलग्न पदाधिकारीहरुलाई कारबाही गर्न निर्देशन दिने।
११.निगमले खरीद गरेको दुईवटा विमान कारखानामा अनुगमन गर्न लगानीकर्ताहरु कर्मचारी संचयकोष, नागरिक लगानी कोष तथा अन्य व्यक्तिहरु पटक पटक निगम कै खर्चमा निरीक्षण गर्न गएको तर भ्रमणमा ३८ जना व्यक्तिहरु सहभागी भएकोमा अधिकांशसँग प्राविधिक ज्ञान नै नभएकाले अनुगमन शंकास्पद रहेको तथ्य स्वयं भ्रमण टोलीका सदस्यहरुले स्वीकारेकाले निगम सञ्चालक समिति र व्यवस्थापकले निजहरुलाई अनुचित प्रभावमा पारेको पुष्टी हुन आएको र भ्रमण प्रतिवेदन पेश नगर्ने सो भ्रमणमा गएका असम्बन्धित व्यक्तिहरुबाट क्षतिपूर्ति भराउन निर्देशन दिने।
१२. बोलपत्रमा प्रस्तावकले पेश गरेको मिति २०१७ को सेप्टेम्बर र दोश्रो जहाज २०१८ को मार्चमा प्राप्त गर्नुपर्नेमा पहिलो वाइडबडी विमान ए३३०-२४३ ९ए-एएलवाई अन्नपूर्ण मिति २०७५/३/ १४ र दोश्रो वाइडबडी विमान ए३३०-२४३ ९एन एएलजेड मकालु मिति २०७५/४/१० मा फ्रान्सको टुलुजबाट काठमाण्डौमा अवतरण गरेका कारण भएको ढिलाइले निगम पहिलो जहाजबाट ९ महिनाको आम्दानी र दोश्रो जहाजबाट ४ महिनाको आम्दानीबाट बञ्चित भएकोमा निगमको उडान तालिका प्रक्षेपणबाट पनि आर्थिक नोक्सान भएको पुष्टि भएकाले संचालकहरूबाट सो क्षतिको रकम निगमको उडान तालिकाका आधारमा क्षतिपूर्ति भराउन निर्देशन दिने।
१३. पहिलो विमानले व्यावसायिक उडान १ अगष्ट २०१८ मा कतारको दोहाबाट र दोस्रोले २४ अगष्ट २०१८ मा थाइलैण्डको बैंककबाट शुरु गरेको भए पनि पूर्व निर्धारित व्यवसायिक योजना कामयावी नभएको, विमान दैनिक ५ देखि ७ घण्टा मात्र उडान गर्न सकेको र यसको पूर्ण क्षमता १४ देखि १५ घण्टा हुने कुरा स्वयं पदाधिकारीहरुले स्वीकार गरेको, हालै मात्र २२ दिनसम्म लापरवाहीपूर्ण तरिकाले ग्राउण्डेड रहेका, नयाँ गन्तव्य तय गर्न नसकेको र कर्जाको व्याज समेत तिर्न आम्दानी नभएकोले दैनिक करीब ६९ लाख रूपैयाँ ब्याज मात्र नोक्सानी भएकोले सो को उडान तालिका अनुसार हर्जाना सम्बन्धित पक्षलाई तिराउन निर्देशन दिने ।
१४.प्रस्तावमा एमएसएन नम्बर १८४० र १८४२ रहेको, बैना रकम १५ फेब्रुअरी २०१७ मा पठाए पछि पुनः १८४५ र १८५४ जानकारी गराएको, ती जहाजहरु २४२ मेट्रिक टन क्षमताको हुनाको साथै तिनीहरूले तीन महिना अगाडिदेखि आम्दानी दिएको कुरा जानकारीमा आएकोले निगम तीन महिनाको सम्भावित आम्दानीबाट बञ्चित भएको देखिएकाले थप अनुसन्धान गरी सम्बन्धित पदाधिकरिहरूबाट निगमलाई भएको नोक्सानी भराउन र दोषीहरुउपर कानूनी कारबाही गर्न निर्देशन दिने।