बिहीबार बालाजुकी पूजा पाठक राहदानी बनाउन केशरमहलस्थित राहदानी विभाग पुगिन्।
लाइनमा बसिरहेका बेला कसैले भनिदियो— यस्तो कपालले फोटो खिच्न मिल्दैन।
पाठकले कपाल 'ब्राउन' बनाएकी थिइन्। उनीसँगै गएका बुवाले अब के गर्ने? भनेर छेउमा रहेका प्रहरीलाई सोधे।
प्रहरीले उनलाई आफ्नो क्यान्टिनतिर देखाए।
‘प्रहरीको क्यान्टिनबाट ड्याडीले ब्रस र जुत्तामा लगाउने पालिस ल्याउनुभयो, मैले कपालमा लगाएँ। अरू पनि दुई/तीन जना केटीहरू थिए,’ पाठकले सेतोपाटीसँग भनिन्, ‘पालिस र ब्रस त्यहीँ छोडेर म फोटो खिच्न गएँ, ड्याडीले पुलिसलाई १०० रूपैयाँ तिर्नुभएछ।’
झन्डै एक घन्टा पालिस लगाएको कपाल बोकेर पूजाले राहदानीको फाराम बुझाइन्। घर आएरमात्र स्याम्पुले पालिस धोइन्।
‘कपालमा जुत्ताको पालिस लगाउँदा बेइज्जत भएजस्तो लाग्यो नि,’ पूजाले भनिन्।
रामेछापकी सुनिता लामाको कपाल पनि सुनौलो थियो। राहदानीको फोटो खिच्नुअघि त्यस्तो कपालले मिल्दैन भनेपछि उनी पनि प्रहरीको क्यान्टिन पुगिन्। ब्रसले पालिस कपालमा दलिन्। सय रूपैयाँ तिरिन् र फोटो खिच्न गइन्।
पूजा र सुनिता त प्रतिनिधि हुन्। राहदानी बनाउन जाने उनीहरूजस्ता कैयौंले कपालमा जुत्ताको पालिस दलेर फोटो खिच्नु परिरहेको छ।
‘कुनैदिन २/३ जना आउँछन्, कुनैदिन त ५/६ जना पुग्छन्, कहिले कोही आउँदैनन्,’ एक प्रहरीले सेतोपाटीसँग भने, ‘हाम्रा केटाहरूको जुत्तामा लगाउन राखिराखेको पालिस हुन्छ त्यही लगाएर जान्छन्।’
विभागको गेटसँगै नेपाल प्रहरीको एउटा गुल्म छ। गुल्ममा १२५ जना प्रहरीको दरबन्दी छ। राहदानी बनाउन आउनेहरूको लाइन मिलाउनदेखि अन्य व्यवस्थापन गर्न तिनै प्रहरी खटिन्छन्।
मेसिन रिडएबल पासपोर्ट बनाउन विभागभित्रै फोटो खिच्न सुरू भएदेखि पालिस लगाउने क्रम सुरू भएको हो। यस्तो काम कहिलेदेखि सुरू भयो प्रहरीलाई नै थाहा छैन।
‘विकल्प कतै नपाएपछि छेउका प्रहरीलाई सोध्छन्। प्रहरीसँग हुने पालिस हो। गर्जो टार्न त्यही दिन्छन्,’ गुल्मका प्रहरी निरीक्षक विजय थापाले भने, ‘पैसा दिनुपर्छ भन्ने होइन तर कोहीले खुसीले ५०/१०० रूपैयाँ छोडेर जान्छन्।’
थापाले प्रहरीले पालिस दिने नियम नभएको तर सेवाग्राहीको व्यवहारिक समस्या देखेर सजिलो बनाइदिएको जिकिर गरे।
पासपोर्टको फोटो खिच्दा कपाल कालो बनाउनै पर्ने किन?
परराष्ट्रका कर्मचारीहरूले कपालमा अन्य रङ लगाएका मानिसलाई कालै रङ चाहिन्छ भनेर फर्काउने भएकाले राहादानी विभागको परिसरमै 'बुट पालिस’ धन्दा चलेको हो।
जबकी पासपोर्टको फोटोमा मानिसको कपालको रङ कस्तो हुनुपर्छ भनेर संसारभर कुनै निश्चित मापदण्ड तोकिएको छैन। मानिसहरुले आफ्नो चाहनाअनुसार कपाल रंग्याउन सक्छन्।
पासपोर्टमा वाहकको फोटो कस्तो हुनुपर्छ भन्नेबारे अन्तर्राष्ट्रिय नागरिक उड्ययन संघ (आइकाओ) ले मापदण्ड तोकिदिएको छ। सोही मापदण्डका आधारमा विभागले राहदानी नियमावलीको अनुसूची ४ मा फोटोबारे लेखेको छ। आइकाओ मापदण्ड र विभागको आफ्नै अनुसूचीमा पनि कपालको रङबारे केही उल्लेख गरिएको छैन।
रंग्याएको कपाल कालै बनाउनु पर्ने हावादारी चलन विभागले आफैंले चलाएको हो।
‘राहदानीबाहकलाई बाहिर जाँदा अध्यागमनमा समस्या नहोस् भनेर सकभर प्राकृतिक कपाल भएको फोटो नै खिच्न लगाउँछौं, विभागमा पहिलादेखि नै यस्तै चलन छ,’ विभागका महानिर्देशक रामकाजी खड्काले सेतोपाटीसँग भने।
मेहेन्दी र हाइड्रोजन लगाएकालाई कर्मचारीले यात्रा गर्दा पनि तपाईंको कपाल यस्तै हुन्छ कि बदलिन्छ भनी सोध्ने गरेको र पछि बदलिन्छ भने कालो लगाउन भन्ने गरेको उनले बताए।
जबकी कपालको रङको छनौट मानिसको स्वतन्त्रताको विषय हो। संसारभर कहीँ पनि यात्रा गर्दा त्यसले बाधा पुर्याउँदैन।
अमेरिकी विदेश मन्त्रालयले जारी गरेको पासपोर्ट गाइडमा यात्रुले आफ्नो कपाल रंग्याएर पासपोर्टमा भएको फोटोभन्दा भिन्न बनाए पनि त्यसले कुनै पनि फरक नपर्ने स्पष्टसँग उल्लेख गरिएको छ।
कपाल कालो बनाउन विभागभित्रै प्रहरीले जुत्ताको पालिस दिनेबारे आफूलाई जानकारी नै नभएको महानिर्देशक खड्काले बताए।
‘समाचार आएपछि थाहा भयो प्रहरीले पालिस दिँदो रैछ। त्यसलाई आजै रोक्न भन्छु। अब प्रहरीले राहदानी बनाउन आउनेलाई कपालमा लगाउन पालिस दिँदैन,’ खड्काले भने।
प्रहरीले पालिस दिने/नदिने भन्दा पनि विभागले कपाल रंग्याएकालाई कालो बनाउन लगाउने कि नलगाउने ठूलो समस्या हो। त्यो रोकिन्छ कि रोकिन्न?
‘नेपाली पासपोर्ट अमेरिकाको जस्तो बलियो छैन त्यही भएर यात्रा गर्दा समस्या नहोस् भनेर नै फोटोमा सकभर प्राकृतिक कपाल नै होस् भन्ने बनाएका हौं,’ महानिर्देशक खड्काले भने, ‘सेवाग्राहीलाई दु:ख भयो भने छलफल गरेर त्यसमा हामी परिवर्तन गर्छौं।’
कर्मचारीले कालो नै बनाउनु पर्छ भनेर कसैलाई बाध्य पारेको भएपनि अबदेखि उनीहरूलाई त्यसो नभन्न निर्देशन दिएको ऊनले बताए।