मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार महेन्द्रकुमार मल्ललाई कामकाज गर्न दिन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
विभिन्न आरोप लगाएर कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १९ गते रजिष्ट्रार मल्ललाई निलम्बन गरेका थिए। उनको ठाउँमा यामबहादुर कार्कीलाई नियुक्त गरिएको थियो।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि रजिष्ट्रार मल्ललाई कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको हो।
विश्वविद्यालयका उपकुलपति प्रा. डा. उपेन्द्रकुमार कोइरालाले विभिन्न आरोपहरू लगाएर १० जनाको हस्ताक्षरसहित रजिष्ट्रार मल्ललाई हटाउन कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली समक्ष निवेदन दिएका थिए।
सोही आधारमा कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले रजिष्ट्रार मल्ललाई निलम्बन गरेका थिए ।
आफूमाथि लगाइएको झूटा आरोपविरूद्ध रजिष्ट्रार मल्लले गएको शुक्रबार सर्वोच्चमा अन्तरिम आदेश माग्दै रिट निवेदन दर्ता गरेका थिए।
रिट निवेदनमा रजिष्ट्रार मल्लले कार्यकारी परिषद्ले गरेका गल्ती ढाकछोप गर्नका लागि उपकुलपतिले आफूमाथि कपोकल्पित र भ्रामक आरोपहरू लगाएको उल्लेख गरेका थिए।
कार्यकारी परिषद्का अध्यक्षसमेत रहेका उपकुलपति कोइरालाले असोज ७ गते परीक्षा व्यवस्थापन प्रमुखमा आनन्दप्रसाद सुवेदी, परीक्षा सहव्यवस्थापन प्रमुखमा खेमराज रावत, मानविकी तथा सामाजिक शास्त्र संकायको क्याम्पस प्रमुखमा तेजविक्रम बस्नेत र कानुन संकायको कार्यक्रम संयोजकमा अर्जुनबहादुर अयडीलाई नियुक्त गरेका थिए।
कार्यकारी परिषद्का सदस्य–सचिवसमेत रहेका रजिष्ट्रार मल्लको उपस्थितिविनै उपकुलपतिले परीक्षा व्यवस्थापनका साथै विभिन्न संकायमा नियुक्ति गरेपछि स्वतन्त्र विद्यार्थी यूनियनसहित नेपाल विद्यार्थी संघ, अखिल छैठौं, नेक्रावि संघ, राप्रविसंघलगायतका विद्यार्थी संगठनका साथै प्रजातन्त्रवादी प्रध्यापक संघलगायतका अरु संगठनहरू आन्दोलित थिए।
सर्वोच्चले दिएको अन्तरिम आदेशमा रजिष्ट्रार मल्ललाई मुद्दाको अन्तिम टुंगो नलागेसम्मका लागि कामकाज गर्न दिनु भन्ने उल्लेख छ।