कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले परम्परागत शैलीको योजना निर्माण र लगानीले प्रदेशको विकास असम्भव रहेको बताएका छन्।
एसियाली बैंकले सोमबार सुर्खेतमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले कर्णालीको विकासका लागि द्रुतमार्गको प्रयोग अपरिहार्य भएको औंल्याए।
एसियाली विकास बैंकले नेपालमा ठुूलो मात्रामा लगानी गरेको भए पनि त्यसको परिणाम नदेखिएको भन्दै मुख्यमन्त्री शाहीले अबको लगानी प्रदेश सरकारको प्राथमिकताका क्षेत्रमा गर्नुपर्ने बताए ।
‘नेता र पहुँचको आधारमा टुुक्रे योजनामा लगानी गरेर कर्णालीको समृद्धि हुनेवाला छैन’ मुख्यमन्त्री शाहीले भने, ‘एउटा मात्रै भए पनि तपाईंहरू पूर्वाधारको क्षेत्रमा लगानी गर्नुहोस्।’
कर्णाली प्रदेशमा सडक, विद्युत, उद्योग, पर्यटन र कृषि क्षेत्रका ठूला परियोजनामा लगानीको आवश्यकता रहेको औंल्याउँदै उनले एसियाली विकास बैंकको आगामी रणनीति यसतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए । ‘पेपर वर्क’ र ‘अफिस वर्क’ले कर्णालीले चाहेको गतिमा समृद्धि असम्भव भएको उनको भनाइ छ।
फास्ट ट्रयाकबाट कर्णालीको विकास र आर्थिक समृद्धि हासिल गर्ने प्रदेश सरकारको योजना पूरा गर्न प्राथमिकताका क्षेत्रमा दाताहरूले लगानी गर्नुपर्ने मुख्यमन्त्री शाहीको धारणा थियो।
आफूहरूले योजना आयोग समेत निर्माण गरिसकेको र छिट्टै परियोजना बैंक तयार गरेर विकास निर्माणको प्राथमिकता सूची निर्माण गर्ने उनले बताए। मुख्यमन्त्री शाहीले प्रदेश सरकारको तर्फबाट दाताहरुको लगानीको सदुपयोग गर्न र पारदर्शिताका साथ परिणाममुखी कार्य गर्न प्रतिवद्ध रहेको बताए