कार्यपालिका गठन भएको डेढ वर्ष पुगिसक्दा पनि जाजरकोटको जुनिचाँदे गाउँपालिकाको केन्द्र विवाद कायमै छ। सानाखोला वा लुहादहमध्ये कुन केन्द्र कायम गर्ने भन्ने विवाद अझसम्म टुंगिएको छैन।
निर्वाचनअघि स्थानीय तहको संरचना निर्माण गर्दा यी दुईमध्ये एक ठाउँमा कायम गर्ने गरी संरचनाको टुंगो लगाइएको थियो। जनप्रतिनिधि निर्वाचित भइसकेपछि विवाद थप बढेको छ।
साविकको मजकोट र दह गाविसमा पर्ने केही वडाहरू सानाखोलालाई केन्द्र राख्नुपर्ने अडानमा छन्। साविकको गर्खाकोट, मजकोट, कोर्ताङ र दहमा पर्ने केही वडा भने लुहादह केन्द्र राख्नुपर्ने अडानमा छन्।
यहाँ २०७४ असारमा गाउँ कार्यपालिका गठन भएको थियो। त्यसको ११ महिनापछि वैशाख ३० गते बसेको पहिलो गाउँसभा बैठकले लुहादह केन्द्र कायम गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष कृष्णबहादुर खड्काले बताएका छन्।
असन्तुष्ट वडाका जनप्रतिनिधिहरूले भने उक्त गाउँसभा नै सञ्चालन नभएको र बैठक पुस्तिका मात्र तयार पारेर जबर्जस्ती केन्द्र तोकिएको आरोप लगाएका छन्।
गाउँपालिका केन्द्र आफू पायक पर्ने गरी तोक्न अध्यक्षले केही वडा सदस्यको हस्ताक्षरसमेत बैठक पुस्तिकामा किर्ते गराएको वडा नम्बर २ का बेदबहादुर शाहीले बताए। उनी तत्कालीन नेकपा एमाले तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार थिए।
उनको अगुवाइमा असन्तुष्ट वडाका जनप्रतिनिधिले वैशाख ३० गते सभा सञ्चालन नभएको भन्दै बैठक पुस्तिकामा हस्ताक्षर किर्ते गरिएको प्रतिवेदन कर्णाली प्रदेश सरकासमक्ष पेस गरेका छन्। त्यसअघि वडा नम्बर ९ का अध्यक्ष रामबहादुर शाहीको अध्यक्षतामा प्रतिवेदन बुझाउनेबारे छलफल गरिएको वडा नम्बर २ का अध्यक्ष रामबहादुर विकले बताए।
प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले उक्त प्रतिवेदन राजनीतिक समितिमा छलफलका लागि पठाएको छ।
एघार वडा रहेको उक्त गाउँपालिकाको केन्द्र लुहादह तोकिएकोबारे २,३ र ९ नम्बर वडा असन्तुष्ट छन्। केन्द्र सानाखोला तोक्नुपर्ने उनीहरूको माग छ। यस्तै अन्य केही वडाका सदस्य पनि सानाखोला नै तोक्नुपर्ने पक्षमा छन्।
‘उनीहरूले गाउँसभा नै नबसालेर त्यत्तिकै माइनटिङ गराएका थिए, त्यसमा केही सदस्यको हस्ताक्षर किर्ते छ,’ प्रतिवेदन बुझाउँदा अगुवाई गरेका शाहीले भने, ‘त्यसरी चालबाजी गरेर गरिएको निर्णय नमान्ने भन्दै जनप्रतिनिधिसहित हामी प्रदेश सरकारसमक्ष गएका हौं। किर्ते हस्ताक्षर गरिएका चार जना सदस्यले पनि हामीले गरेका होइनौ भन्दै निवेदन दिइसकेका छन्।’
उनका अनुसार वैशाख ३० गते बसेको भनिएको गाउँसभाको माइन्यूटमा वडा नम्बर १ का सदस्य अमर कार्की, नानकला बूढा, वडा नम्बर ८ का सदस्य धने लुहार र रुपसिला दमाइको हस्ताक्षर किर्ते गरिएको थियो।
वडा सदस्य लुहारले आफ्नो हस्ताक्षर किर्ते भएको दाबी गरेका छन्।
‘वैशाख ३० गते म लुहादह गएको थिइनँ, त्यो दिन म घरको काममा थिएँ,’ उनले सेतोपाटीसँग भने, ‘म जाँदै नगएको मान्छेको सही कसरी भयो, त्यो मलाई थाहा छैन।’
वडा नम्बर २ का अध्यक्ष विकले पनि गाउँपालिका केन्द्र आफू पायक पर्ने गरी तोक्न अध्यक्षले किर्ते हस्ताक्षर गराएको बताएका छन्। सबै क्षेत्रलाई पायक पर्ने गरी सानाखोला नै केन्द्र तोक्नुपर्नेमा उनले जोड दिए।
‘हाम्रो माग सानाखोला केन्द्र हुनुपर्छ भन्ने हो। उनीहरूले लुहादह राख्न खोजेका छन्,’ अध्यक्ष विकले भने, ‘अध्यक्षको स्वार्थमा गाउँपालिका केन्द्र तोकिनु हुँदैन। त्यसको प्रतिवेदनसहित हामी प्रदेश र संघीय सरकारसमक्ष पुगेका छौं। अब छिट्टै केन्द्र कायम हुनेछ।’
गाउँपालिका अध्यक्ष कृष्ण खड्काले भने बहुमतसहित केन्द्र तोकिएको दाबी गरेका छन्।
सबै क्षेत्रलाई पायक पर्ने भएकाले लुहादह केन्द्र तोकिएको भन्दै उनले हस्ताक्षर किर्ते गराएको र गाउँसभा सञ्चालन नै नभएको आरोप खण्डन गरे।
‘वैशाख ३० गते हाम्रो गाउँसभा सञ्चालन भयो, त्यहाँ पूरै ३९ जना जनप्रतिनिधि उपस्थित भई हस्ताक्षर गरेका छन्,’ अध्यक्ष खड्काले भने, ‘कता किर्ते भयो, कता बैठक सञ्चालन भएको होइन भनेर असन्तुष्ट पक्ष प्रदेश सरकारसमक्ष गएको छ।’
अध्यक्ष खड्काले असन्तुष्ट पक्षले बुझाएको प्रतिवेदनका आधारमा प्रदेश सरकारले निर्णय गरे आफू सर्वोच्च अदालत जाने चेतावनीसमेत दिएका छन्।
‘हामीले विधिअनुसारै केन्द्र तोकेका छौं। असन्तुष्टले आरोपका नाउँमा आरोप लगाउँदैछन्,’ उनले भने, ‘हामीले प्रदेश सरकारको निर्णय पर्खेका छौं। प्रदेश सरकारले हाम्रो विपक्षमा निर्णय गरे भोलिपल्टै सर्वोच्च जान्छौं।’
केन्द्र सानाखोला हुनुपर्ने अडानमा रहेको पक्ष वैशाख ३० को निर्णयमा बेइमानी भएको प्रतिवेदनसहित संघीय सरकारसमक्ष पनि पुगेको थियो। संघीय सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तत्काललाई उक्त स्थानीय तहको कामकाज राजपत्रमा उल्लिखित ‘पराले’ बाट हुनुपर्ने ताकेतासहित चिठी पठाएको छ।