नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदीले सभापति पदबाट आफूलाई स्वनिलम्बीत गरेका छन्। पर्सा कांग्रेसले विगतको चुनावमा अप्रत्यासित हार ब्यहोरेको कारण देखाउँदै आत्मालोचना गर्दै जिल्ला सभापति पदबाट द्विवेदीले आफूलाई एक साताका लागि निलम्बित गरेका हुन्।
पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल उपस्थित कार्यक्रममा जिल्ला सभापति द्विवेदीले स्वयंलाई निलम्बित गरेका हुन्। स्वतन्त्रता सेनानी स्वर्गीय हरिहर गुप्ताको श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी भित्रको गुटउपगुटको कारण नेपाली कांग्रेसको अवस्था धेरै दयनीय भएको भन्दै पार्टीलाई एक ढिक्का भएर अगाडि बढाउन मेचीदेखि महाकालीसम्म आफूले अभियान सुरू गर्न लागेको बताएपछि द्विवेदीले आफूलाई निलम्बित गरेका हुन्।
आउँदो आइतबारदेखि पार्टी उपसभापति शान्ति कार्कीलाई कार्यवाहक दिँदै आफू त्यस दिनदेखि एक साता निलम्बित भएको घोषणा गरे।
द्विवेदीले आफूलाई आत्मलोचित गर्दै निलम्बनको घोषणा गर्दै विगतमा सबैले गरेका कामप्रति आत्मआलोचना गर्न अनुरोधसमेत गरे।
अजय द्विवेदीको यो घोषणा केन्द्रीय नेता पौडेल सामुको नौटंकी मात्र भएको पूर्वमन्त्री सुरेन्द्र चोधरीले बताए। अजय द्विवेदीको यो घोषणालाई ‘चटकीखेलको संज्ञा दिँदै उनले द्विवेदी अन्तर्रघातीहरुको नेता भएको दाबी गरे। उनले द्विवेदीमाथि बिरोध बढेपछि उनी मदरासी शैलीमा मस्सरभाब्बरी गरेको भन्दै यसले केही फरक नपार्ने दाबी गरे।
अन्तर्घातीहरुलाई कारबाही नभएसम्म आफूहरुको दबाव जारी रहने नेता चौधरीको भनाई थियो।
द्विवेदीको स्वनिलम्बनलाई केन्द्रीय सदस्य अजय चौरसियाले आश्चर्य व्यक्त गरेका छन्। उनले राजनीतिमा अनौठो प्रयोग भएको बताउँदै यसबारेमा आफूमात्र नभई सबै कांग्रेसीजन आश्चर्यचकित भएको बताए।