बिहीबार अपरान्ह ४ बजेतिर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको हलमा चहलपहल थियो। सरकारका प्रवक्तासमेत रहेका मन्त्री गोकुल प्रसाद बाँस्कोटाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न भन्दै डाकेको पत्रकार सम्मेलनमा झन्डै दर्जन बढी सहसचिव उपस्थित थिए। मन्त्रिपरिषद् बैठक सकिनासाथ निर्णय सार्वजनिक गर्ने चलन रोकेर पहिलो पटक पत्रकार सम्मेलन डाकिएको हो। त्यसैका लागि मन्त्रालयको प्रवक्ताको पनि जिम्मेवारी सम्हालेका सहसचिव बोलाइएको रहेछ।
निर्धारित समयभन्दा १५ मिनेट ढिला मन्त्री बाँस्कोटा हलमा छिरे।
पाँच दिनअघिका निर्णय सुनाउन आउँदा उनी आजको मन्त्रिपरिषद् बैठक सकेर आएका थिए। अब हरेक बिहीबार यही हलमामात्र मन्त्रिपरिषद् निर्णय सार्वजनिक गरिने उनले बताए।
सरकार र पत्रकार दुबैको सजिलोको लागि यस्तो गर्नु परेको दाबी गरे।
‘मन्त्रिपरिषद् बस्ने टुंगो हुँदैन, कहिले बालुवाटारमा बस्छ कहिले सिंहदरबारमा, कहिले बिहान बस्छ, अनि कहिले राति,’ बाँस्कोटाले भने, ‘पत्रकार साथीहरूलाई एक कप चिया खुवाउन पनि सकिन्न, अबेर राति हुँदा मन्त्रीले पनि आँखा मिच्दै निर्णय भन्नुपर्छ, भन्नेले एउटा भनेको हुन्छ पत्रकारले अर्कै टिपिदिन्छन्।’
सरकारले सूचना लुकाउन नभई व्यवस्थित गर्न नयाँ चलन सुरू गरेको बताएपछि उनले आइतबारको मन्त्रिपरिषद् बैठकले गरेका २२ वटा निर्णय सार्वजनिक गरे।
उनी बोल्दाबोल्दै माइक बजेन। भने, ‘प्रविधि मन्त्रालयकै माइक बिग्रियो।’ हलभरि हाँसो गुन्जियो। उनी बोल्दै थिए, फेरि माइक सुनिएन। बाँस्कोटाले थपे, ‘अर्को पटकदेखि यो पनि सुधार गरिनेछ।’
उनले सार्वजनिक गरेका २२ निर्णयमध्ये अधिकांश यसअघि नै सार्वजनिक भइसकेका थिए।
इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापालाई फिर्ता बोलाएर उनको ठाउँमा अन्जान शाक्यलाई सिफारिश गरिएको, बूढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा वितरण इकाइको समय एक वर्ष थपेको, सर्लाहीमा नेकपा कार्यकर्तासँगको झडपमा मारिएका कांग्रेस कार्यकर्ता रामविलास महतोको परिवारलाई १० लाख रूपैयाँ दिने र केही विधेयक संघीय संसदमा पेश गर्ने निर्णय भने सार्वजनिक भएका थिएनन्।
निर्णय सुनाइसकेपछि मन्त्री बाँस्कोटाले पत्रकारलाई प्रश्न सोध्न समय दिए। एक पत्रकारले भने- यी सबै निर्णय त सार्वजनिक भइसकेको थिए।
‘इजरायलका राजदूत फिर्ता बोलाएको समाचार आएको थिएन नि,’ मन्त्री बाँस्कोटाले भने, ‘यो पत्रकार सम्मेलन हुनुभन्दा पहिलानै मन्त्रिपरिषद्का निर्णय जान्न खोजी पत्रकारिता गर्नुस्। तपाईँले भेटेसम्म समाचार लेखेवापत् सरकारले कारबाही गर्दैन।’
तर सबै मन्त्रीहरूलाई सूचना नचुहाउन प्रधानमन्त्रीले सचेत गराइसकेको पनि उनैले बताए।
‘तपाईंहरू नाम नबताउने सर्तमा फलानो थरका मन्त्रीले भन्नुभयो भनेर लेख्नुहुन्छ, त्यो भन्ने की नभन्ने उहाँहरूको कुरा हो तर प्रधानमन्त्रीले पनि त्यसरी सूचना नदिन निर्देशन दिइसक्नुभएको छ, सचेत गराउनु भएको छ,’ बाँस्कोटाले भने, ‘त्यसरी समाचार लेख्दा सत्यतथ्य लेखिदिनु होला।’
उनले बोलिसकेपछि बाँकी जिज्ञासा भए सम्बन्धित मन्त्रालयका प्रवक्तालाई सोध्न भने। प्रवक्तालाई कसैले प्रश्न सोधेन। पत्रकारसम्मेलन सकियो। पहिलो पटक मन्त्रिपरिषद् निर्णय भएको प्रेस रिलिजसँगै खाजा पनि बाँडियो।
झन्डै एक घन्टा बसेर निस्केका प्रवक्ताहरू पनि हातमा खाजाको प्याकेट समाएर झरे।
भर्याङमा ओर्लदाँ उनीहरू आपसमा भनिरहेका थिए- अब हामीलाई पनि सजिलो हुने भयो। पत्रकारलाई बिहीबार यहीँ आउनुस् भनिदिनुपर्छ। बिहान १० बजेको हुँदैन पत्रकारले फोन गरेर हैरान पार्छन्।