गृह मन्त्रालयले कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख रहेका निलम्बित एसपी दिल्लीराज बिष्ट र इन्स्पेक्टर जगदीशप्रसाद भट्टलाई सेवाबाट बर्खास्त गरेको छ।
१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार-हत्या अनुसन्धानमा लापरबाही गरेको भन्दै निलम्बनमा परेका बिष्ट र भट्टलाई प्रहरी प्रधान कार्यालयको सिफारिशमा बिहीबार साँझ गृहले बर्खास्त गर्ने निर्णय गरेको हो।
यसअघि गृहले दुबै जनासँग किन बर्खास्त नगर्ने भन्दै दुई पटक स्पष्टिकरण सोधेको थियो। उनीहरूले दिएका स्पष्टिकरण चित्त बुझ्दा नभएकाले उनलाई सेवाबाट बर्खास्त गरिएको गृहले जनाएको छ। उनीहरू दुबै जनालाई भवि्ष्यमा सरकारी सेवा योग्य ठहरिने गरी बर्खास्त गरिएको हो।
कञ्चनपुरकी १३ वर्षीया निर्मलाको गत साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। उक्त घटना अनुसन्धानको क्रममा प्रहरीले चरम लापरबाही गरेको भन्दै स्थानीयले प्रदर्शन गरेका थिए।
सरकारले बनाएको छानबिन समितिले पनि कञ्चनपुर प्रहरीले घटनाको प्रभावकारी अनुसन्धान गर्नुको साटो प्रमाण नष्ट गर्ने, नक्कली अभियुक्त खडा गर्ने, आरोपितलाई राम्ररी सोधपुछ नगर्ने गरेको प्रतिवेदन दिएको थियो।