प्रधानमन्त्रीसहित देशमा उच्च पदस्थ व्यक्तिहरू मंगलबार ललितपुरको पुल्चोकदेखि सिंहदरबारसम्म ‘बिजुली बस’ अर्थात विद्युतीय बसमा गएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, बन मन्त्री शक्ति बस्नेत, अर्थमन्त्री युवराज खतिवडा, पूर्वसभामुख सुवास चन्द्र नेम्वाङ, काठमाडौं र ललितपुर महानगरपालिकाका मेयर, प्रहरी प्रमुख सर्वेन्द्र खनाललगायत उच्च पदस्थ सरकारी अधिकारीहरू पुलचोकस्थित साझा यातायातको कार्यालयदेखि सिंहदरवारसम्म विद्युतीय सवारीमा गएका हुन्।
साझा यातायातले आयोजना गरेको बिजुली बस शुभारम्भ कार्यक्रम सकेर उनीहरू सिंहदरबार गएका हुन्। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतीय यातायात राष्ट्रिय कार्ययोजना लोकापर्ण समेत गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो ५ वटा विद्युतीय गाडी ‘गाडी’ मात्र नभई देशको आगामी कार्यदीशा रहेको जिकिर गरे।
‘देशबाट लोडसेडिङ अन्त्य भइसक्यो, अबको केही वर्षमा जलविद्युतलाई प्रोत्साहन गरेर इन्धनको आयात घटाउँछौ’, उनले भने, ‘यसो गर्नाले देशको आर्थिक भार कम हुनुको साथै जनस्वास्थ्यलाई पनि फाइदा पुग्छ।’
नेपाल विद्युत प्राधिकरणले २० ठाँउमा चार्जिङ स्टेसन राखेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले सन् २०२० सम्म कुल सवारीसाधनको २० प्रतिशत विद्युतीय हुने दाबी गरे।
‘आज काठमाडौंमा सुरू भएको विजुली बसहरू आउँदा दिनमा माछाले भन्दा बढी फूल पार्छ र विद्युतीय सवारीको ट्रेण्ड अगाडि बढ्छ, देशका अरू शहरलाई पनि यसले आर्कसित गर्छ,’ उनले भने।
नेपालमा पेट्रोल नभएको तर, विद्युतको सम्भावना प्रसस्त भएकाले डिजेल, पेट्रोल गाडीलाई हटाउन त्यती गाह्रो नहुने उनको दाबी छ।
‘हाम्रो देशमा मोटर फ्याक्ट्री छैन, किन्नैपर्ने हो। किन्नै परेपछि विद्युतीय गाडी नै किनौं,’ उनले अगाडि थपे, ‘यदी फ्याक्ट्री नै बनाउने र स्थापना नै गर्ने हो भने पनि विद्युतीय नै स्थापना गरौ।’
प्रधानमन्त्रीले अबको ३ वर्षमा घरघरमा ग्यासको पाइपभन्दा पनि बिजुलीको तार पुर्याउने बताए।
‘मैले अघिल्लो कार्यकालमा घरघरमा ग्यासको पाइप पुर्याइदिन्छु भनेको थिएँ। अब हाम्रो जीवनमा प्रयोग हुने अन्य कुरा पनि विद्युतीय हुनेछन्। अबको ३ वर्ष भित्र हामी ग्यासको पाइप होइन बिजुलीको तार चुलाचुलामा पुर्याउँछौ,’ प्रधानमन्त्रीले भने।
कार्यक्रममा बन मन्त्री शक्ति बस्नेतले बढ्दो शहरीकरणले सवारी बढाएको र सवारीले प्रदुषण बढाएको भन्दै विद्युतीय सवारीमा जोड दिनुपर्ने बताए।
‘जलवायु परिवर्तनमा हाम्रो देशको भूमिका निकै कम छ तर असर भने हामीलाई नै धेरै परेको छ, त्यसैले हामी सचेत हुनु जरूरी भइसक्यो,’ उनले भने।
संस्कृति पर्यटन तथा उड्यन मन्त्री रविन्द्र अधिकारीले सरकार वातावरणप्रति सचेत रहेको भन्दै लुम्बिनी, पशुपतिलगाएतका पर्यटकीय स्थलमा विद्युतीय सवारी सञ्चालन गर्ने बताए।
‘चार्जिङ स्टेसन बन्दै छ। अबको ६ महिनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सकेर १० महिना भित्र सञ्चालनमा ल्याएरै छोड्छौ र एयरपोर्टदेखि लुम्बिनीसम्म विद्युतीय सवारी चलाउँछौ,’ उनले भने।
यी विद्युतीय सवारी नेपालको यातायात क्षेत्रमा कोशेढुङ्गा सावित हुने साझा यातायातका अध्यक्ष कनक मणि दिक्षितले दाबी गरे।
‘देशभर युरो १ इन्जिनको गाडी प्रयोग हुँदा साझा यातायातले युरो ३ स्ट्र्याण्डर्डको गाडी ल्यायो, सेमी लो फ्ल्लोर गाडी पनि साझाले भित्र्यायो र अहिले विद्युतीय गाडी पनि साझाकै नेतृत्वमा सञ्चालन हुँदैछ,’ उनले जानकारी गराए।
एसियाली विकास बैंकसँगको समन्वयमा लुम्बिनी क्षेत्र विकास कोषले ५ वटा विद्युतीय गाडी नेपाल भित्र्याएको हो।
५ वटा मध्ये २ वटा गाडी काठमाडौं आइपुगेको छ भने एउटा बाटोमा छ त्यस्तै बाकिँ २ वटा नेपाल भित्रने प्रकृयामा रहेको दीक्षितले जानकारी दिए।
गौतमबुद्ध अन्तर्राष्ट्रिय एयरपोर्ट नबनुन्जेल कोषले ती गाडी साझालाई काठमाडौं उपत्यकामा सञ्चालन गर्न दिएको हो।
चिनियाँ कम्पनी बिवाइडीको उक्त गाडी चालकसहित २० सिट क्षमताको छ भने २ वटा ह्विलचेयर राख्ने स्थान छ। ह्विलचेयर उकाल्न यसमा लिफ्ट पनि छ।
यी गाडीमा सिसि क्यामरा, उभिएर यात्रा गर्नेको लागि ह्याङगरलगायतका सुविधा छन्।
गाडीको उच्च गती १०० किलोमिटर प्रतिघण्टासम्म रहेको छ। यसले १५० किलोवाट पावर र ५५० एनएम टर्क दिन्छ।
यो गाडी पुरा चार्ज गर्न ३ देखि ४ घण्टा लाग्ने र पुरा चार्ज भएको गाडी २ सय किलोमिटरसम्म चल्ने कम्पनीले दाबी गरेको छ।
यसको मूल्य करिब १ करोड ७५ लाख पर्ने साझा यातायातका सदस्य भुषण तुलाधरले जानकारी दिए।
विद्युतीय गाडीको ब्याट्री नै निकै महंगो पर्ने र १२ वर्षको ग्यारेन्टी हुने हुँदा मूल्य केही महंगो परेको तुलाधरले जानकारी दिए।
अब काठमाडौंमा पनि बिजुली बस [फाेटाे फिचर]