अन्ततः काठमाडौं क्षेत्र नम्बर ७ बाट नेकपा नेता वामदेव गौतम चुनाव नउठ्ने भएका छन्। पार्टीका नेता, क्षेत्र नं. ७ का प्रदेशसभा सांसदहरूसँगको परामर्शपछि गौतम चुनाव नउठ्ने निष्कर्षमा पुगेका हुन्।
काठमाडौं क्षेत्र नम्बर ७ का प्रदेशसभा सदस्य वसन्त मानन्धरले वामदेव चुनावमा नउठ्ने पक्का भएको बताए। ‘अहिलेको परिस्थितिमा उप-निर्वाचनमा जानु उचित नहुने निष्कर्षमा वामदेव कमरेड पुग्नुभएको छ,’ मानन्धरले सेतोपाटीसँग भने।
काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित रामवीर मानन्धरले मंगलबार गौतमका लागि भन्दै सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका थिए। उनको घोषणाबाट प्रधानमन्त्री केपी ओली सन्तुष्ट थिएनन्।
‘आफ्नो लागि पद त्यागेको घोषणा गरेकोमा रामवीरजीलाई म धन्यवाद दिन्छु, अहिलेलाई जनताको चाहनाविपरीत उप-निर्वाचन नहुने भयो,’ गौतमलाई उद्धृत गर्दै मानन्धरले भने।
प्रधानमन्त्री ओलीले बुधबार उक्त क्षेत्रका प्रदेशसभा सांसद मानन्धर र प्रकाश श्रेष्ठलाई बालुवाटारमा बोलाएर छलफल गरेका थिए। छलफलमा प्रधानमन्त्रीले रामवीरको राजीनामाबारे परामर्श गरेका थिए। परामर्शका क्रममा रामवीरले कसैलाई छलफल नगरी सांसद पदबाट राजीनामा दिएको प्रदेशसभा सांसदद्वयले बताएका थिए।
‘प्रधानमन्त्रीलाई पनि औपचारिक रुपमा थाहा रहेनछ, उहाँले रामवीरजीको राजीनामाबारे आश्चर्य व्यक्त गर्नुभयो,’ मानन्धरले भने।
काठमाडौं क्षेत्र नं. ७ बाट गौतमलाई उठाउने विषयमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, गौतम र रामवीरबीच छलफल भएको थियो। तीन जनाको आपसी समझदारीमा रामवीरले राजीनामा दिने निष्कर्ष निकालेका थिए।
पार्टीमा छलफल नगरी रामवीरको आकस्मिक राजीनामा आएपछि नेकपाभित्रै असन्तुष्टि छाएको छ। नेकपाका उपमहासचिव विष्णु पौडेलले गौतमले काठमाडौं ७ बाट चुनाव उठ्न अहिले उपयुक्त नहरेको बताएका थिए।
गौतमले चुनाव नउठ्ने निर्णय गरेसँगै रामवीरको राजीनामामा नैतिक प्रश्न उठेको छ। उनले यसबारे प्रतिक्रिया दिइसकेका छैनन्। उनको राजीनामा सुनेपछि ७ नम्बर क्षेत्रका मतदाता तथा शुभेच्छुक आक्रोशित छन्।
काठमाडौं-७ का जनताको तात्तातो जनमतसहित सेतोपाटीको विशेष सम्पादकीय हेर्नुहोस्