प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठनमाथि लाग्दै आएको आक्षेप र शंकालाई मुक्त बनाउने प्रयासमा आफू रहेको बताएका छन्।
६३औं प्रहरी दिवसको अवसरमा बिहिबार राजधानीमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन्।
उनले केही कर्मचारीको कमीकमजोरीलाई लिएर संगठनका सबै अधिकारी र समग्र संगठनलाई कमजोरी ठान्न नहुने भन्दै उनले जिम्मेवारी निर्वाह गर्ने क्रममा साना गल्ती तथा त्रुटीहरूले पनि समग्र संगठनमाथि नै लाञ्छना लाग्ने हुँदा राष्ट्रले सुम्पेको जिम्मेवारी गम्भिरतापूर्वक वहन गर्दै सबै प्रहरी कर्मचारीहरूले इमान्दारिता, निष्ठापूर्वक र दृढतापूर्वक काम गर्नुपर्ने बताए।
उनले पछिल्लो समय अपराधीले प्रविधि प्रयोग गरेर अपराध गर्न थालेको भन्दै उनीहरूले विधि परिवर्तन गरेकाले थप चुनौती थपिएको बताए।
उनले खुला सीमाका कारण शान्ति सुरक्षामा चुनौती थपिएको अवगत गराए।
खनालले भौतिक साधन स्रोतको अभावका बाबजुद पनि नेपाल प्रहरीले अपराध नियन्त्रण तथा अनुसन्धान, नागरिकको सुरक्षा र ट्राफिक व्यवस्थापनमा राष्ट्रले सुम्पेको जिम्मेवारी अहोरात्र खटिएर निर्वाह गर्दै आएको चर्चा गरे।
उनले गतवर्ष प्रहरी सक्रियताकै कारण ९० प्रतिशत अपराधिक घटनामा कमी आएको बताए। उनले संगठनका २-४ जना व्यक्तिकै कारण समग्र संगठननै बदनाम भएको भन्न नमिल्ने तर्क गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक सेवालाई केन्द्रमा राखी काम गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
उनले साइबर अपराध तथा अन्तरदेशीय अपराधमा ध्यान दिनु जरूरी रहेको औल्याए।
प्रहरीले विगतका दिनमा उल्लेख्य भूमिका खेलेको भन्दै प्रधानमन्त्री ओलीले यो व्यवसायिकतालाई झन उचाइमा पुर्याउन आवश्यक रहेको बताए।
समाजमा हुने एक दुई घटनाले समग्र संगठन बदनाम हुने भएकाले प्रहरीले व्यवसायिकतालाई प्रदर्शन गर्न निर्देशन दिए।
कार्यक्रममा पूर्व एआईजी अमर सिंह साहलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो।