वीरगन्ज महानगरका मेयर विजयकुमार सरावगीले पार्टीबाट राजीनामा दिएका छन्।
संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य मेयर सरावगीले पार्टीमा उचित सम्मान र आवश्यक सहयोग प्राप्त नभएको भन्दै राजीनामा दिएका हुन्।
‘पार्टीका नेताहरूलाई सहयोग र मर्यादापूर्ण व्यवहार गर्न पटकपटक आग्रह गरें’ उनले भने, ‘तर त्यस्तो अनुभूति नभएपछि बाध्य भएर पार्टीको साधारण सदस्यता नै परित्याग गरेको छु।’
स्रोतका अनुसार केही दिनअघि मकालु होटलमा पार्टी नेताबीच भएको छलफलमा मेयर सरावगीले काम गर्ने उपयुक्त वातावरण नबने पार्टी छाड्ने चेतावनी दिएका थिए।
सरावगीले पार्टीका केन्द्रीय सदस्य समेत रहेका महानगरपालिका इञ्चार्ज मोहन चौधरीलाई राजीनामा बुझाएका हुन्। उनले राजीनामाको बोधार्ध केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई ह्वाटस्एपबाट पठाइदिएका छन्।
पार्टीका पर्सा जिल्ला अध्यक्ष समेत रहेका सांसद प्रदीप यादवले मेयरले राजीनामा दिएको आफूलाई कुनै जानकारी नरहेको बताए।
‘राजीनामा दिएको कुनै पत्र पार्टी कार्यालयमा प्राप्त भएको छैन्’ उनले भने, ‘पार्टीबाट राजीनामा दिएको पत्र प्राप्त भएपछि मात्र प्रतिकृया दिन मिल्छ।’
स्थानीय तहको चुनाव हुनुभन्दा केही अगाडि उनी उद्योगी व्यवसायीसहित फोरममा प्रवेश गरेका थिए।