बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बगांल खाडीको प्रयास (विमिस्टेक) को चौथो शिखर सम्मेलनमा सरकारले सुरक्षा ब्यवस्था मजबुद पारेको छ।
भदौ १४ र १५ गते काठमाडौंमा हुने सम्मेलनस्थल, सम्मेलनमा आउने राष्ट्र प्रमुख तथा प्रतिनिधिहरू बस्ने होटल र उनीहरूको आवजावत हुने क्षेत्रको सुरक्षामा सरकारले देशका ४ वटै सुरक्षा निकायलाई तैनाथ गर्नेछ।
सुरक्षामा ५ हजार नेपाल आर्मीसँगै नेपाल प्रहरीका ९ हजार ६ सय ४७, सशस्त्र प्रहरीका २ हजार ५ सय र राष्ट्रिय अनुसन्धान विभागका करिब ५ सय कर्मचारी गरी १८ हजार सुरक्षाकर्मी सम्मेलन अवधिभर तैनाथ हुनेछन्।
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले आवश्यकता अनुसार सुरक्षाकर्मी पवरिचालन गरेर सुरक्षा व्यवस्था चुस्त र दुरूस्त राख्ने बताए।
‘गृहमन्त्रीज्यूको नेतृत्वमा यातायात सुरक्षा तथा परिभवन समिति बनाइएका छौ, सोही समितिको तयारी अनुसार आवस्यक मात्रामा सुरक्षाकर्मी परिचालन हुनेछन्,’ गृह प्रवक्ता सुवेदीले सेतोपाटीसँग भने।
यस्तै उक्त दुई दिन सवारी ब्यवस्थापनका बारेमा पनि गृहले छलफल तिब्र बनाएको छ।
‘ती दुई दिनमा स्कुल बिदा दिनेकी भन्ने बारेमा पनि छलफल चलिरहेको छ, जोरबिजोर सवारी चलाउने बारे पनि छलफल जारी छ,’ उनले भने, ‘सम्मेलनमा आएका पाहुना को कता बस्ने भन्ने बारेमा अहिल्यै फिक्स भएको छैन, को कता बस्ने भन्ने बारेमा छलफल हुँदैछ, सोल्टी र हायातमा तयार गरिने भएको छ।’
बिमिस्टेकमा नेपालसहित सदस्य राष्ट्र भारत, म्यानमार, थाइल्याण्ड, भुटान, बंगलादेश, श्रीलङ्काका राष्ट्रप्रमुखहरू नेपाल आउँदैछन्।
सम्मेलनमा म्यानमारका राष्ट्रपति वीन म्यन्ट, श्रीलङ्काका राष्ट्रपति मैथिरीपाल शिरीसेनासहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, थाईल्याण्डका प्रधानमन्त्री प्रायुथ छान्ओचा, बंगलदेशकी प्रधानमन्त्री शेख हसिना र भुटानका चुनावी सरकारप्रमुख दासो छिरिङ वाङचुक नेपाल आउनेछन्।
सन् २०१४ मा म्यानमारमा भएको तेस्रो सम्मेलन पछि बिमिस्टेकको अध्यक्षता नेपालले गर्दै आएको छ ।
बिमिस्टेकले गरिबी निवारण, व्यापार तथा लगानी, यातायात र सञ्चार, ऊर्जा, पर्यटन, प्रविधि, कृषि, वातावरण तथा विपद् व्यवस्थापन, लगायत जनता–जनताबीचको सम्पर्क बिस्तारलाई प्राथमिकतामा राखेको छ ।