सर्वोच्च अदालतको आदेशमा रिहा भएका नेत्रविक्रम चन्द विप्लब समूहका खड्ग बहादुर विश्वकर्मा प्रकाण्डलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।
शुक्रबार न्यायाधीशहरू चोलेन्द्र शम्शेर जबरा र तेज बहादुर केसीको संयुक्त इजलासले खड्ग बहादुर विश्वकर्मा प्रकाण्डलाई छाड्न आदेश दिएको थियो।
उक्त आदेशले रिहा भएका प्रकाण्डलाई प्रहरीले अदालत परिसरबाटै नियन्त्रणमा लिएको हो।
आदेश दिए लगत्तै प्रहरी उनलाई पक्राउ गर्न अदालत पुगेको थियो। प्रहरीको पक्राउबाट बच्न विश्वकर्मा करिब पाँच घण्टा अदालत भित्र बसेका थिए। राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले आफ्नो गाडीमा राखेर विश्वकर्मालाई निकाल्न प्रयास गर्दा प्रहरीले अवरोध गरेको थियो।
अदालतको मूलगेटमा करिब एक घण्टाको रस्साकसी पछि अन्ततः विश्वकर्मा आफैं गाडीबाट ओर्लेर प्रहरीलाई पक्राउ दिएका थिए। पुनः पक्राउमा परेका विश्वकर्मालाई काभ्रेमा एनसेलको टावरमा आगजनी गरेको अभियोग रहेको प्रहरीले बताएको छ।
काठमाडौं प्रहरीले विश्वकर्मालाई काभ्रे प्रहरीको जिम्मा लगाउने भन्दै काभ्रे लिएर गएको छ।
यसअघि चन्दा असुली गरेको आरोपमा पक्राउ परेका प्रकाण्डलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै उनका छोरा नरेन्द्र बहादुर सिंह विकले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
सो रिटमाथि सुनुवाई गर्दै सर्वोच्चको फैसलामा भनिएको छ-
‘चन्दा ऐन २०३० को कसुरजन्य कार्य गरेको भन्ने देखिने कुनै उजुरी, जाहेरी वा प्रतिवेदन परेको भन्ने तथ्ययुक्त प्रमाण लिखित जवाफका साथ विपक्षीहरुले पेश गर्न सकेको देखिएन । निवेदकहरुलाई थुनामा राख्दा बाध्यात्मक रुपमा पालना गर्नुपर्ने कार्यविधिहरु पालना नगरिएको, थुनामा राख्न अनुमति दिंदा के कुन प्रयोजनका निमित्त थुनामा राख्नुपर्ने हो सो को कुनै आधार र कारण खोली आदेश गरेको नपाईएको समेतका आधार र कारणबाट यी रिट निवेदकहरुलाई काठमाण्डौ जिल्ला अदालतबाट म्याद थप गरि थुनामा राख्नेगरि भएका सम्पूर्ण काम कारवाहीहरु कानून अनुरुप भएको नदेखिंदा निवेदकहरु खड्ग बहादुर विश्वकर्मा प्रकाण्ड, हरिचन्द्र आचार्य र मन बहादुर श्रेष्ठलाई थुनामा राख्ने गरि भएका आदेश समेत गैह्र कानूनी रहेको देखिँदा बन्दप्रत्यक्षीकरणको आदेश हुने ठहर्छ। बन्दी प्रत्यक्षीकरणको आदेश जारी भई आजै गैह्र कानुनी थुनाबाट रिट निवेदकहरू थुनामुक्त हुने हुँदा निजहरूलाई सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार राजप्रसाद भट्टराईको रोहवरमा छाडी सो को निस्सा समेत राख्नू।’
प्रकाण्डलाई प्रहरीले साउन २२ गते पक्राउ गरको थियो।