शसस्त्र प्रहरीबलमा कार्यरत सुरक्षाकर्मीहरुले राजीनामा दिने क्रम ह्वातै बढेको छ।
पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बलका सईदेखि कार्यालय सहयोगी समेत गरी ७ सय ८६ जनाले राजीनामा दिएका छन्।
असार महिनामा राजीनामा दिनेको संख्या गएको दुई महिनाभन्दा झन्डै चार गुणाले बढेको छ।
असारमा एक प्रहरी निरीक्षकसहित ५ सय २६ जनाले राजीनामा दिएका छन्। शसस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी बाबुराम पाण्डेका अनुसार समयमा नै कर्मचारीको वृत्तिविकास गर्न नसक्दा राजीनामा दिनेको संख्याख्या बढेको हो।
‘राजीनामा दिने धेरैजसो संगठनमा १६ वर्षसम्म काम गरेका छन्। उनीहरु बढुवा ढिलो भएकाले राजीनामा दिएको हुनुपर्छ,’ उनले भने, ‘संगठनभन्दा अन्तै राम्रो अवसर पाउने र केहीले घरायसी समस्या देखाउँदै राजीनामा दिएका छन्।
गत वैशाखमा १००, जेठमा १६० र असारमा ५ सय २६ जनाले राजीनामा दिएका हुन्।
यसरी राजीनामा दिनेमा ३ जना प्रहरी निरीक्षक, २७ जना प्रहरी नायव निरीक्षक, १३३ जना प्रहरी सहायक निरीक्षक, ४६५ प्रहरी बरिष्ठ हवल्दार, ३१ जना प्रहरी हवल्दार, २२ जना प्रहरी सहायक हवल्दार र ९८ जना प्रहरी जवानलगायत छन्।
अब बढ्दो राजीनामा रोक्न समयमा बढुवा लगायतमा ध्यान दिने डिआइजी पाण्डेले बताए।
त्यसैगरी ३ महिनाको अवधिमा संगठनको आचरण बिरूद्ध काम गर्ने २ सय १० जना सशस्त्रका कर्मचारी कारबाहीमा परेका छन्।
वैशाखमा ९०, जेठमा ८२ र असारमा १ सय ५ जना गरी तीन महिनाको अवधिमा २ सय १० जना कारबाहीमा परेको प्रवक्ता पाण्डेले जानकारी दिए।
हाल शसस्त्र प्रहरी बलमा ३७ हजार ११७ जना सुरक्षाकर्मी कार्यरत छन्।
अब संघीय संरचनामा
सशस्त्र प्रहरी बलले संघीय संरचनामा जाने तयारी गरेको छ। नयाँ संरचना अनुसार ७ प्रदेश र उपत्यका गरी ८ वटा बाहिनी रहने गरी तयारी थालेको छ।
त्यसैगरी तालिम केन्द्रको संख्यामा ५ वटा थप गर्ने तयारी शसस्त्र प्रहरी बलले गरेको प्रवक्ता डिआईजी बाबुराम पाण्डेले बताए।
मंगलबार सशस्त्र मुख्यालयमा भएको पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी बल अब संघीय संरचनामा चल्ने तयारी गरेको प्रवक्ता डिआईजी पाण्डेले जानकारी दिए।
उनका अनुसार ७ वटै प्रदेशमा एक-एक र उपत्यकामा गरी ८ वटा बाहिनी रहनेछन्। यसअघि उपत्यकासहित ५ वटा बाहिनी सञ्चालनमा थिए।
केन्द्रको मातहतमा रहनेगरी अब थप ५ वटा तालिम केन्द्र थपिने उनले जानकारी दिए।
त्यसैगरी २ सय ३७ सिमा सुरक्षा कार्यालयलाई गणमा परिर्वतन गर्ने र थप गणहरू समेत गरी ६२१ वटा स्थापना गर्ने प्रवक्ता पाण्डेले जानकारी गराए।
त्यसैगरी ३८ वटा अनाश्रित गुल्मको संख्या वृद्धी गरि ५६ पुर्याइएको छ।
त्यस्तै सशस्त्र प्रहरी बलले अब ७७ वटै जिल्लामा आफ्नो सहभागिता जनाउने भएको छ।
सीमा सुरक्षालाई चुस्त पार्न सशस्त्रले प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी आवश्यक कदम चाल्ने समेत प्रवक्ता पाण्डेले बताए।
त्यसैगरी सशस्त्र प्रहरी बलले ७ वटै प्रदेशमा अस्पताल स्थापना गर्दै लैजाने पनि पाण्डेले जानकारी दिए।
वैशाख यता करिब ४ करोड राजश्व संकलन
गएको वैशाख यता सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय तथा विभिन्न युनिटमा खटिएका प्रहरी कर्मचारीले ३ करोड ८९ लाख ४४ हजार ९ सय ४३ रूपैया बराबरको राजश्व छलीका सामानहरू बरामद गरेर सम्वन्धीत निकायलाई बुझाएको प्रवक्ता पाण्डेले जानकारी दिए।
त्यसैगरी वैशाख यता १ सय ८३ जनालाई विभिन्न अपराधिक क्रियाकलापमा संलग्नलाई पक्राउ परेको प्रवक्ता पाण्डेले बताए।
विपत ब्यवस्थापनमा ३ हजार सशस्त्र प्रहरी अलर्ट
सशस्त्र प्रहरी बलले उपत्यकासहित देशभरीका युनिटमा ३ हजार दक्ष जनशक्तिलाई तयारी अवस्थामा राखिएको जनाएको छ।
विपत्त ब्यावस्थापनका लागि १३ टोलीलाई एम्बुलेन्ससहित तयारी अवस्थामा राखिएको प्रवक्ता पाण्डेले जानकारी दिए।
‘विपतका बेला तत्काल उद्धारमा खटिन सहज होस् भन्न हामीले आवश्यक पर्ने सामाग्रीसहित टोली तैनाथ राखेका हुन्छौ,’ प्रवक्ता पाण्डेले भने।