यातायात समिति खारेज भए पनि सवारी साधन पञ्जिकरण नभई चल्ने भएका छन्। पहिले नै रूट पाएर चलिरहेका गाडीलाई समिति खरेज भए पनि सोही रूटमा चल्न पाउने भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले जानकारी दिए।
‘नयाँ रूट लिन र रूट हेरफेर गर्दा अनिवार्य पञ्जिकरण (कम्पनीमा जानु) गर्नुपर्ने हो, पुस मसान्तबाट भने पहिलेनै रूट पाएका सवारीले पनि अनिवार्य रुपमा कम्पनीमा जानुपर्छ’, उनले मन्त्रालयमा आयोजित कार्यक्रममा भने, ‘समिति पो रहेन त गाडी चलाउनै रोक्ने त कहाँ हो र?’
सिन्डीकेट अन्त्यपछि मन्त्रालयले बनाएको कार्यदलको समयमै काम नगर्दा यस्तो अन्यौल देखापरेको हो।
यसैबीच समितिको रोक्का भएको बैंक खाता पनि सरकारले खुला गरेको छ।
कुनै दुर्घटना हुँदा घाईते वा मृतकलाई क्षतिपूर्ति, कर्मचारीको नियमित तलब भत्ता, घरभाडा लगायतको खर्च गर्ने विषयको प्रमाण सम्बन्धीत जिल्ला प्रशाशन कार्यालयमा बुझाएपछि प्रमुख जिल्ला अधिकारीले भेरिफाइड गरेपछि सम्बन्धित समितिले बैंक खाताबाट पैसा निकाल्न पाउनेछन्।
त्यस्तै सोही प्रकृया पुरा गरेर समितिको ऋण तिर्न सकिने मन्त्री महासेठले जानकारी दिए। २०७५ चैत १८ गतेदेखि यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६०लाई संशोधन गरेको थियो।
संशोधित निर्देशिकाले सवारी साधनको रूट नविकरण र हेरफेर गर्दा अनिवार्य रूपमा पञ्जिकरण गर्नुपर्ने व्यवस्था लागू गरेको छ। निर्देशिका अनुसार, सवारी कम्पनीमा दर्ता हुनुपर्ने, साउनदेखि विभिन्न नाममा खडा गरिएका यातायात समिति नविकरण नहुनेलगायत व्यवस्था गरेको थियो। यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कार्यदल बनाएको थियो।
कार्यदलले पहिलो चरणको प्रतिवेदनमा समिति खारेजी पछी कसरी यातायात सञ्चालन गर्ने भन्दा पनि ट्राफिक लाइट, आरक्षण सिटलगायतका साना कुरामा ध्यान दिँदै आएको छ।