पूर्ववर्ती सरकारका कृषि मन्त्रीले मन्त्रीस्तरीय निर्णयबाट नियुक्त गरेका १० जना कर्मचारीलाई सरकारले पदमुक्त गरेको छ।
कृषि विकास मन्त्रालयले गत असार २० गते बसेको मन्त्रिपरिषद्को निर्णय बमोजिम मन्त्रालय अन्तर्गतका विभिन्न प्राधिकरण, संस्थान, परिषद्, बोर्ड, कोष, समिति, कम्पनी, बैंक वा अन्य संगठित संस्थाका १० जना कर्मचारीलाई पदमुक्त गरेको हो।
मन्त्रालयका उपसचिव दिर्घराज उपाध्यायले पूर्वमन्त्रीले नियुक्त गरेका १० जना कर्मचारीलाई हटाएको जानकारी दिए।
‘पूर्ववर्ती सरकारले नियुक्त गरेका कर्मचारीलाई हटाउने मन्त्रिपरिषदको निर्णय बमोजिम आजैका मितिबाट हाम्रो मन्त्रालय अन्तर्गतका कर्मचारीलाई पदमुक्त गरेका छौँ’, उपाध्याययले भने।
उपाध्याययका अनुसार पदमुक्त हुनेमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डका सदस्य मनोजमणि आचार्य, कृषि सामाग्री कम्पनी लिमिटेडका सदस्य भागवतप्रसाद यादव, कृषि सामाग्री कम्पनी लिमिटेडका सदस्य सुनिल तिमल्सिना, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका राजनप्रसाद न्यौपाने तथा नेपाल उखु तथा चिनी विकास समितिका रामआषिश महतो छन्।
त्यस्तै राष्ट्रिय दुग्द्य विकास बोर्डमा नियुक्ती पाएका अन्य पाँच जना कर्मचारीलाई समेत मन्त्रालयले पदमुक्त गरेको छ। पदमुक्त गरिएका कर्मचारीहरुमा निर्मला ज्ञवाली, राजेन्द्रराज पन्त, रतन गुरुङ, शिवकुमार थारु र रामकुमार खड्का छन्।
यी पाँचै जना कर्मचारीलाई सदस्यका रुपमा नियुक्ती दिइएको थियो।
यी कर्मचारीलाई पूर्ववर्ती कृषिमन्त्री रामकृष्ण यादवले विभिन्न समयमा नियुक्ती दिएका हुन्।
उपाध्याययले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको गत असार २१ मा पाएको पत्र बमोजिम उल्लेखित कर्मचारीलाई हटाइएको बताए।
गत २० गतेको मन्त्रिपरिषदको वैठकले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका सिलसिलामा निर्वाचन आयोगबाट आचारसंहिता लागू भएपछि तथा वर्तमान सरकार गठनहुनुभन्दा अगाडि भएका राजनीतिक नियुक्ति तथा मनोनयन खारेज गर्ने निर्णय गरेको थियो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले तदनुरुप सम्बन्धित मन्त्रालयले सो अवधिमा नियुक्ति भएका व्यक्तिलाई तत्कालै पदमुक्त गरी सो को जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिद्को कार्यालयलाई गराउन परिपत्र जारी गरेको थियो।
सोही पत्र बमोजिम सम्बन्धीत कर्मचारीलाई हटाइएको उपाध्याययको भनाई छ।