केपी शर्मा ओली नेतृत्वको सरकारले सगरमाथा चढ्नदेखि उपचार खर्चमा झन्डै डेढ करोड रुपैयाँ बाँडेको छ।
फागुन ३ गते बनेको ओली सरकारले वैशाख मसान्तसम्म नेता, कर्मचारी, संस्था र व्यक्तिलाई १ करोड ३९ लाख रुपैयाँ बाँडेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार चैत र वैशाखमा बसेका मन्त्रिपरिषद् बैठकबाट पैसा दिने निर्णय भएको हो।
सरकारले केही कर्मचारीलाई उपचार खर्च भनेर पाँच लाखसम्म रुपैयाँ दिएको छ।
चैत १२ गतेको मन्त्रिपरिषद्ले उपसचिव चित्रांगत बराल र सहलेखापाल गोपाल श्रेष्ठलाई ५/५ लाख उपचार खर्च दिने निर्णय गरेको छ। चैत १४ गतेको बैठकले जुम्लामा कार्यरत महिला विकास निरीक्षक विन्दु कुँवर र खरिदार गिरीजाप्रसाद बन्जारालाई उपचार खर्च ५/५ लाख दिने निर्णय गरेको छ।
वैशाख ११ को निर्णयमा सामान्य प्रशासन मन्त्रालयका दयाराम पोखरेल समेतलाई थप आर्थिक सहयोग उपलब्ध गराउने भनिएको छ तर रकम तोकिएको छैन। वैशाख २४ गते लेखापाल लंकनारायण श्रेष्ठलाई उपचार खर्च ५ लाख दिने निर्णय भएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिशमा कडा रोग लागेका कर्मचारीलाई सरकारले पाँच लाखसम्म उपचार खर्च दिन सक्छ।
सरकारले सगरमाथा चढ्ने नेपाली महिला पत्रकारको टोलीलाई ४० लाख रुपैयाँ दिएको छ। चैत ७ गतेको मन्त्रिपरिषद्ले पत्रकारहरू रोशा बस्नेत, लक्ष्मी कार्की, कल्पना महर्जन, रोजिता बुद्धाचार्य र देउराली चाम्लिङलाई सगरमाथा चढ्न जनही ८ लाख रुपैयाँ दिएको हो।
नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का र तत्कालीन नेकपा एमालेका नेता जागृतप्रसाद भेटवाललाई उपचारका लागि सरकारले १५/१५ लाख रुपैयाँ दिएको छ। उपचाररत दुबै नेताको अहिले निधन भइसकेको छ।
भारतमा उपचार गराएर फर्किएका राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरलाई पनि बिल बमोजिमको रकम उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
यो बीचमा सरकारले चितवनको भरतपुर– ११ का ध्रुव घिमिरेलाई ७ लाख, विराटनगर– ९ का लव प्रधान ‘मित्र’ लाई १० लाख र विश्वेश्वरा दाहाललाई ७ लाख उपचार खर्च दिने निर्णय गरेको छ।
अछामको वैद्यनाथ धामलाई वेद विद्याश्रममा स्तरोन्नती गर्न २० लाख रकम दिएइको छ।