राष्ट्रिय जनता पार्टी, नेपालले प्रदेश पाँचको प्रदेशसभा सदस्यमा कल्पना पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
पार्टीको मंगलबार काठमाडौंमा बसेको अध्यक्ष मण्डल बैठकले पाण्डेलाई प्रदेश ५ को प्रदेशसभा सदस्य बनाउने निर्णय गरेको हो।
समानुपातिकतर्फबाट प्रदेश पाँचको प्रदेशसभा सदस्य छानिएकी विनु पन्तले स्वास्थ्यका कारण देखाउँदै दिएको राजीनामा स्वीकृत गर्दै पाण्डेलाई सो पदमा नियुक्त गर्ने निर्णय गरिएको पार्टीका नेता राजेन्द्र महतोले जानकारी दिए।
पाण्डेलाई प्रदेशसभा सदस्यमा नियुक्त गर्ने पार्टीको निर्णय निर्वाचन आयोगलाई जानकारी गराउने पनि पार्टीले स्पष्ट पारेको छ ।
पार्टीको बुधबार बस्ने अध्यक्ष मण्डलको बैठकमा पार्टी महाधिवेशनको तयारी र विधान निर्माण तथा संसदीय दल गठनका विषयमा केन्द्रीत हुनेछ।
आगामी महाधिवेशनको तयारी र पार्टी संसदीय दल गठनका विषयमा आवश्यक निर्णय लिन भोलि पनि अध्यक्ष मण्डलको बैठक बोलाइएको नेता महतोले बताए।
राष्ट्रिय जनता पार्टी, नेपालले महाधिवेशनको तयारी अन्तरगत गाउँदेखि केन्द्रसम्मका सबै तहको अधिवेशनको कामलाई अघि बढाउन राजनीतिक समितिको बैठक तत्काल बोलाउने निर्णय पनि गरेको छ ।