गृहमन्त्री रामबहादुर थापाले तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याको छानबिन गर्न बनेको समितिलाई विचलित नभएर अपरेशन अघि बढाउन निर्देशन दिएका छन्।
फरार अभियुक्तको अदालतमा आत्मसमर्पण, उनीहरूको बयान तथा पछिल्लो गतिविधिलाई जानकारी गराउन आइतबार साँझ आफ्नै कार्यकक्षमा मन्त्री थापाले समितिसँग ब्रिफिङ लिएका थिए।
सो ब्रिफिङमा गृहमन्त्री थापाले मन्त्रिपरिषदले बनाएको समितिबारे कोहीले कसैको पक्ष लिएर बोल्दैमा केही फरक नपर्ने भन्दै अपरेशन जारी राख्न निर्देशन दिए।
‘प्रहरीका ३ जना पूर्वडिआइजीले समितिबारे धारणा राखेको र समितिको वैधानिकतामा प्रश्न उठाएको कुरा मैले मिडियाबाट थाहा पाएँ तर त्यसमा कुनै तुक छैन,’ समितिका एक सदस्यले गृहमन्त्रीलाई उद्धृत गर्दै भने, ‘उहाँहरूले आफ्नो धारणा राख्नुभएको होला, त्यसले केही फरक पर्दैन।’
यो पनि हेर्नुहोस्
थापाले सरकारले बनाएको समितिले अहिले सम्म राम्रो काम गरिरहेको उल्लेख गर्दै अपराधको जरासम्म पुग्ने र घटनामा जोडिएका बाँकीलाई पनि सार्वजनिक गर्न अपरेशन जारी राख्नुपर्ने बताए।
‘अपरेशनलाई गहिराइसम्म पुर्याउनू, सरकार सधैँ साथमा छ,’ गृहमन्त्रीले समितिलाई भने।
तस्करीको ३३ किलो सुनका मालिक भनिएका मोहन अग्रवाल, दुबईबाट सुन नेपाल पठाउने गोरेका भाइ रमेशलगायत फरार अभियुक्तलाई नेपाल झिकाउन अहिले काम भइरहेको समिति स्रोतले सेतोपाटीलाई जानकारी दियो।
‘एक दुई दिनमा केही उपलब्धि हुन्छ,’ स्रोतले भन्यो।
घटनाका अभियुक्त चुडामणि उप्रेती ‘गोरे’, भुजुङ गुरुङ लगायतलाई समितिले पक्राउ गरी बयानपछि अदालत बुझाएको थियो।
समितिले एसएसपी श्याम खत्रीको घरमा छापा मार्न थालेपछि उनी आफैं अदालतमा हाजिर हुन गएका थिए।
घटनाका अर्का अभियुक्त छिरिङ वाङगेल घलेले पनि आइतबार अदालतमा आत्मसमर्पण गरेका छन्।
‘फरार रहेका सुन मालिक केही दिनमै पक्राउ पर्छन्,’ समिति स्रोतले भन्यो, ‘समितिले अभियुक्तलाई कानुनी दायरामा ल्याउने काम हो, बाँकी अदालती प्रक्रियामा हुन्छ।’
समितिका एक सदस्यले अहिलेसम्म निष्पक्ष अनुसन्धान भएको र कसैलाई पनि बिना प्रमाण थुनामा नराखिएको दाबी गरे।
‘कुनै व्यक्ति विषेशलाई लिएर हाम्रो काममा टिकाटिप्पणी भएका छन, योभन्दा अघि बनेका समिति र उनीहरूको काम पनि देखेकै हो, अहिले हाम्रो काम आमनागरिकले देखिरहेकै छन्,’ उनले भने।
यो पनि हेर्नुहोस्