काठमाडौंदेखि वर्दिबाससम्मको विपि राजमार्गमा ठूला सवारी चलाउन दिने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।
यो राजमार्गमै पर्ने सिन्धुलीका बासिन्दा तथा अधिवक्ता कैलाश दाहालले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले जेठ १३ गते विपि राजमार्गमा ३२ सिट क्षमताका गाडी र १६ टन वजन भएका मालवाहक सवारी गुडाउने इजाजत (रुट परमिट) दिएको थियो।
यसअघि गरिएका दुई वटा अध्ययनले १६ देखि १८ सिटका सवारी साधन र १० टनभन्दा कममात्र वजन भएका मालबहाक गाडी यो रुटमा चल्न सक्ने भनेका थिए।
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले काठमाडौंदेखि बर्दिवाससम्मको विपी राजमार्गमा पहिलेभन्दा धेरै क्षमताका ठूला गाडी चलाउन इजाजत दिएको हो। मालवाहक सवारीलाई भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म चलाउन दिने भएको छ। मालवाहक गाडीको तौल १६ टन हुन्छ।
सरकारले अघिल्ला प्रतिवेदनका निष्कर्ष लत्याउँदै ठूला मालवाहक गाडीलाई चल्न दिने भन्दै गरेको निर्णय कार्यान्वयन नगर्न अधिवक्ता दाहालले रिट निवेदनमा माग गरेका छन्।
'बाटो साँघुरो भएर सडकको सुरक्षा नहुने तथा अस्वस्थ प्रतिस्पर्धाको कारण दुर्घटना बढ्न सक्ने, वातावरणीय असर र प्रदुषणका कारण जनताको जिउधनको असुरक्षा हुने भएकाले यो रिटको टुंगो नलागेसम्म ठूला सवारी साधनलाई विपि राजमार्गमा सञ्चालन गर्न नदिनू नदिलाउनू भनि अन्तरिम आदेश जारी गरिपाउँ,’ रिटमा उल्लेख छ।
यातायात व्यवस्था विभागका प्रवक्ता तुल्सिराम अर्यालले भने पछिल्लो अध्ययनले १६ टन मालवाहक ४.२२५ मिटर लम्बाई र २.४४ मिटर चौडाइ भएका र ३२ सिट क्षमताका गाडी विपि राजमार्गमा चल्न सक्ने देखाएकाले इजाजत दिएको बताए।
यसअघिका अध्ययन प्रतिवेदनले भने १६ सिट क्षमताका सवारीमात्र यो रुटमा चल्न सक्ने भनेका थिए। ती प्रतिवेदनले १० टन भन्दा कम वजन बोक्ने, ४.२०० मिटर ह्विल वेस (सबभन्दा अघिल्लो चक्का र सबभन्दा पछिल्लो चक्का बीचको दुरी) भएको मालवाहक सवारीमात्र विपिराजमार्गमा चल्न सक्ने देखाएका थिए।
पछिल्लो पटकको अध्यनले बढी वजन भएका सवारी धान्न सक्ने देखाएकोले इजाजत दिएको यातायात व्यवस्था विभागका प्रवक्ता अर्यालले बताए। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केही समयअघि विष्णु ओम बादेको संयोजकत्वमा बनाएको समितिले धेरै तौल मालबाहक गाडी समेत विपि राजमार्गले धान्न सक्ने प्रतिवेदन दिएको उनले जानकारी दिए।
यातायात व्यवस्था विभागले यसअघि नै दुई वटा अध्ययन गरेको छ।
यो राजमार्गको परिक्षणकालमा तत्कालिन प्राविधिक निर्देशक बि.शरद अधिकारीको संयोजकत्वमा प्राविधिक समिति बनेको थियो। सो समितिले अधिकतम १६ सिट क्षमताको सवारी र १० टन भन्दा कम वजन बोक्ने, ४.२०० मिटर ह्विल वेस भएका गाडीमात्र यो रुटमा चल्ल सक्ने प्रतिवेदन दिएको थियो।
परीक्षणकाल सकिएपछि यातायात व्यवस्था विभागले यो रुटको क्षमता अध्ययन गर्न प्राविधिक निर्देशक गोविन्दप्रसाद खरेलको संयोजकत्वमा समिति बनाएको थियो।
खरेलको समितिले भने १८ सिट सम्मका मिनिबस र माइक्रोबसलाई इजाजत दिन सकिने प्रतिवेदन बुझाएको थियो। यो अध्ययनले पनि १० टन भन्दा कम तौलका मालवाहक सवारीलाई मात्र इजाजत दिन सकिने निष्कर्ष निकालेको थियो। दुवै समितिले सवै प्रकारका रात्रीकालीन सवारी निषेध गरेका थिए।
विभागका प्रवक्ता अर्यालले पछिल्लो प्रतिवेदन मान्दा स्थानीयको माग सम्बोधन हुने बताए।
‘तीनवटा फरक फरक प्रतिवेदन आएकोले हामीले विष्णु ओम बादेको संयोजकत्वमा बनेको पछिल्लो समितिको प्रतिवेदनलाई मानेको हौं,’ उनले भने, ' स्थानीयले धेरै सिटका गाडी चलाउन दिने माग गरेका थिए पछिल्लो प्रतिवेदनले पनि इजाजत दिन सकिने भनेपछि लागू गरेका हौं।'
यातायात व्यवस्था विभागमा पूर्व प्राविधिक निर्देशक अधिकारीले भने पछिल्लो प्रतिवेदन आफूले नबुझेको बताउँछन्। विपि राजमार्ग ठूला गाडी धान्न योग्य नभएको उनको ठहर छ।
‘हामीले निष्पक्ष अध्ययन गरेका थियौं। दुर्घटना नियन्त्रण, वातावरण संरक्षण, स्थानीयको गुनासा र नेपालको सबैभन्दा महंगो सडक भएकोले सडकको संरक्षणलाई ध्यानमा राखेर प्रतिवेदन तयार पारेका थियौं,’ उनले भने ‘म अरुले बनाएको प्रतिवेदनलाई कमेन्ट गर्दिन तर यो सडक ठूलो गाडी हाक्न योग्य छैन।'
सडक ४ मिटरको मात्र भएकोले २ मिटर भन्दा ठूला गाडी चलाउन नहुने अधिकारीको जिकिर छ।
उनका अनुसार यो राजमार्गमा ठूला गाडी चलाउँदा ठोकिने, बाटो भिरालो ठाउँमा घुमाउरो भएकाले साइड दिँदा खस्ने सम्भावना बढी हुन्छ। रिटेलिङ वाल लगाएर बनाएको सडक भएको हुनाले सुख्खा पहिरो जाने, भासिने, सडक बिग्रने लगायतको समस्या आउन सक्छ।
'चाहाना त सबैको आफ्नो घर अगाडि बोइङ प्लेन ल्याण्ड गरोस भन्ने होला नि तर सम्भव हुने कुरा मात्र गनु पर्छ। मान्छे मर्न नदिन हामीले त्यो निणर्य गरेका थियौं,’ उनले सेतोपाटीसँग भने।
यातायात व्यवस्था विभागले गरेको अध्ययले यो रुटमा २०७२ साल भरी ७९ वटा दुर्घटना भएको देखाउँछ। जसमा १ सय ५ जनाको घाइते भएका थिए भने ४ जनाको मृत्यु भएको थियो।