प्रतीपक्षी नेपाली कांग्रेसले सरकारले ल्याएको बजेट कार्यान्वयन हुन नसक्ने र बोझ बढाउने खालको भएको बताएको छ।
अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषण गरेपछि संसद भवन बानेश्वरमा संवाददाताहरुसँग कुरा गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले करको बोझ बढाएर उत्पादकत्व बढाउँछु भन्नु वाइयात भएको बताए।
कांग्रेसका अर्का सांसद मिनेन्द्र रिजालले बजेटले दिउँसै सपना देख्ने क्रममलाई निरन्तरता दिएको प्रतिक्रिया दिए।
‘बजेट सुन्दा पनि दिउँसै सपना देख्ने क्रम सकिएन, जारी रह्यो,’ रिजालले भने, ‘बजेटको आकार ठूलो छ। केन्द्रले उठाउने राजश्वको लक्ष्य ठूलो छ। विदेशी ऋण चुनौतीपूर्ण छ।’
अर्का सांसद गगन थापाले बहुमतको सरकारले बजेटमार्फत जोखिम लिन नसकेको बताए।
‘बजेट उत्साहित हुनु पर्ने खालको छैन,’ थापाले भने।
प्रधानमन्त्री केपी शर्मा ओलीले भने प्रतीपक्षीले टिप्पणी सत्य नभएको बताएका छन्।
संवाददातासँग कुरा गर्दै प्रधानमन्त्री ओलीले जनतालाई निराश पार्नुभन्दा सपना देखाउनु राम्रो भएको बताए।
‘बजेटमा संकल्प छ, योजना छ। कार्यान्वयन के हुन्छ हेर्दै जाऊँ,’ प्रधानमन्त्रीले भने।
अर्थमन्त्री युवराज खतिवडाले आज १३ खर्ब १५ अर्बको बजेट सार्वजनिक गरेका थिए।