प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले सीमा रक्षा गरेर बसेका नेपाली जनतालाई पानाका पाना राष्ट्रवादको पाठ पढाउन जरुरी नरहेको बताएका छन्।
संसदमा सरकारले पेश गरेको नीति तथा कार्यक्रममा टिप्पणी गर्दै देउवाले हिमाल, पहाड र तराईमा बसेका नेपाली राष्ट्रवादी रहेको बताए।
'उत्तर दक्षिण र पूर्व पश्चिम हाम्रा सीमाना रक्षा गरेर बसेका हाम्रा दाजुभाइ दिदीबहिनीहरूका लागि राष्ट्रवादबारे पानाका पाना पाठ पढाउन जरुरी छैन', देउवाले संसदमा भने, 'नेपाली जनता सबै राष्ट्रवादी छन्। चाहे हिमालमा बसेका हुन् चाहे पहाडमा बसेका हुन्, चाहे मधेशमा बसेका हुन् तिनीहरूले सीमा रक्षा गरेर बसेका छन्। उनीहरूलाई फेरि राष्ट्रवादको पाठ पढाउनु आवश्यक छैन।'
देउवाले संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई सम्माननीय शब्द प्रयोग नगरेकोमा समेत असन्तुष्टी दर्ज गरे।
'राष्ट्रपतिले सम्माननीय शब्द प्रयोग नगरे पनि म सम्माननीय शब्द प्रयोग गर्न चाहन्छु', संसद बैठकको सुरूवातमा देउवाले रोष्टममा उभिएर भने। नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सम्मानार्थी शब्द प्रयोग नगरेकोमा संशोधन समेत दर्ता गराएका छन्।
नीति तथा कार्यक्रमको विषयमा भने देउवाले लिखित रूपमै टिप्पणी गर्दै आलोचना गरे।
'घोषित नीति तथा कार्यक्रममा बजेट कहाँबाट आउने? भन्ने उल्लेख छैन', देउवाले भने, 'राजनीतिक संक्रमण सकिएको छ। नेपालले पछिल्लो दुई वर्ष लगातार आर्थिक वृद्धिदर हासिल गरेको छ। यो सरकारलाई अवसर थियो। तर नीति तथा कार्यक्रममा कुनै नयाँपन छैन। सरकारसँग दूरदृष्टि नभएको हो वा नचाहेको हो? यस्तो ऐतिहासिक अवसर खेर फाल्न हुँदैन।'
उनले संघीयताको कानूनी र नीतिगत व्यवस्थापनका बारेमा प्रष्टता नभएको कर्मचारी व्यवस्थापनको विषय नसमेटिएको बताए।
'नीति तथा कार्यक्रममा नीति छन् तर कार्यक्रम छैनन्। सिद्धान्त र प्राथमिकता पनि यस्तै रह्यो', देउवाले भने।
उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा एक वर्षमा कति काम गर्ने? भन्ने उल्लेख नै नरहेको बताए।
'एक वर्षमा यति गर्नेछु भन्ने लेखिएको कही पाइएन। योजना र कार्यक्रम बिनाको सपना मनोकामना मात्र हो', देउवाले टिप्पणी गरे।
उनले आफूलाई बलियो मान्ने सरकारले आर्थिक सुधारका ठूलाठूला जोखिम लिनुपर्ने बताए।
देउवाले नीति तथा कार्यक्रमलाई 'दिशाहीन र छरपस्ट' भएको टिप्पणी गरे।
'पाँच वर्षमा प्रतिव्यक्ति आय दोब्बर बनाउने, युवा विदेश जान नपर्ने, विद्युत खपत बढाउने लक्ष्यहरू कसरी पुरा गर्ने?', देउवाले भने, 'लक्ष्य हासिल गर्न अर्थतन्त्रको आकारको ५० प्रतिशत लगानी गर्नुपर्नेछ। आज १५ करोड डलरको विदेश लगानी छ। त्यसलाई बढाएर ३ अर्ब पुर्याउनुपर्छ।'
'छ्यासमिसे र हावादारी कुराको टेकोमा मात्र लोकतान्त्रिक, शान्तिपूर्ण समन्वयात्मक र समृद्धि समाज गन्तव्यम पुग्दैन,' देउवाले भने। उनले विपीले सुरू गरेको पूर्व पश्चिम राजमार्ग र स्वतन्त्र परराष्ट्र नीतिको विषय अहिले आफूले सुरू गरेको झैँ देखाउन खोजिएकोप्रति समेत आपत्ति जनाए।
'समृद्ध मुलुक बनाउन विकास नगरी उपाय छैन। अर्थतन्त्रको सुधार गर्नुपर्छ। विदेशी लगानी आकर्षित गरि त्यतातिर ध्यान जानुपर्छ', देउवाको भनाइ थियो।