नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले तयारी बिनै सरकारले फितलो नीति तथा कार्यक्रम ल्याएको टिप्पणी गरेका छन्।
नीति तथा कार्यक्रममा महत्त्वकांक्षी योजनाहरू राखेर शब्दजालको भुलभुलैया मात्रै बनाउँदा जनतामा निराशा देखिएको उनले बताए।
'इतिहासकै शक्तिशाली भनेर प्रचार गरिएको सरकारको नीति तथा कार्यक्रम खोक्रो भाषणजस्तो छ' राजधानीमा बुधबार भएको एक कार्यक्रममा उनले भने, ‘महत्त्वकांक्षी योजना घोषणा मात्रै गरिएको छ, कसरी हासिल गर्ने केही उल्लेख छैन।'
उनले फौजदारी अभियोग लागेका सरकारी कर्मचारी तथा सुरक्षाकर्मीलाई तत्कालै निलम्बन गरिएजस्तै सांसदलाई पनि निलम्बन गर्ने नियम बनाउनुपर्नेमा जोड दिएका छन्।
सरकारसँग स्पष्ट बहुमत रहेकाले जनतालाई भ्रममा नपारी काम गर्न उनले आग्रह पनि गरे।