भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई आफूले सरुवा नगरेको स्पष्ट पारेका छन्।
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले सो कुराको स्पष्ट पारेका हुन्।
कार्यक्रममा बोल्दै मन्त्री महासेठले भने,‘डिजी भट्टराईजीलाई मन्त्रालयमा बोलाएका छौं, उहाँलाई डिस्टर्ब गर्नेगरी ल्याएको होइन, उहाँले यातायात क्षेत्रको सिण्डिकेट हटाउनको लागि सकारात्मक भूमिका निर्वाह गर्नुभएको थियो।’
सिण्डिकेट हटाउनको लागि सबैभन्दा धेरै साथ र सहयोग पत्रकार, जनता र सुरक्षा निकायको रहेको भन्दै उनले धन्यवाद समेत दिए ।
सिण्डिकेट हटाउने सरकारको एजेण्डा रहेको बताउँदै उनले भने,‘सिण्डिकेट हटाउने एजेण्डा प्रधानमन्त्रीको वा रघुवीर महासेठको मात्रै होइन, यो त सरकारको एजेण्डा हो, हामीले त्यही गरेका छौं।’
उनले सिण्डिकेट हटाउन भट्टराईको मात्र योगदान रहेको भनेर गरिएको प्रचारबाजी गलत भएको बताए। सिण्डिकेट हटाउन सबै पक्षको उत्तिकै भूमिका रहेको उनले स्पष्ट पारे ।
उनले थपे,‘म मन्त्रीमा बहाल भएको १५ दिनपछि सिण्डिकेट हटाउन निर्देशन दिएको हुँ, विभिन्न बाधा तथा अड्चन पन्छाएर सिण्डिकेट तोडिएको छ, अस्तव्यस्त यातायात क्षेत्रलाई अझै व्यवस्थित गर्नुपर्छ, हामी कार्यदल बनाउँदैछौं, मन्त्रालयबाट गरिने कामको लागि केही दिनको लागि भट्टराईलाई बोलाइएको छ, तर सरुवा भएको छैन।’
उनले नेपालमा अझै धेरै सिण्डिकेटहरु तोड्न बाँकी रहेको सुनाए । लाइसेन्स, ब्लु बुक लगायत यातायत क्षेत्रका समस्याहरू यही आर्थिक मसान्तभित्रै व्यवस्थित गर्ने पनि उनको विश्वास छ।
सरकारले अघि सारेका नीति तथा कार्यक्रमहरु पूरा गर्नको लागि प्रतिपक्षी दलको पनि सहयोग आवश्यक रहेको उनको भनाइ छ।
महासेठले सडकको रेखांकन, सुरुङमार्ग र राजमार्गका पुल निर्माणलाई नीति तथा कार्यक्रमले प्राथमिकता दिएको बताएका छन्।