प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रमलाई ‘योजनाको पुलिन्दा’ को संज्ञा दिँदै संघीय संसदमा त्यसबारे आवाज उठाउने भएको छ।
मंगलबार बसेको संसदीय दलको बैठकले सरकारको नीति तथा कार्यक्रमलाई पुरानै शैली र केन्द्रीकृत प्रणालीको सपना बाड्ने ‘योजनाको पुलिन्दा’ मात्रै भएको संसदमा आवाज उठाउने निर्णय गरेको हो।
नीति तथा कार्यक्रममा स्थानीय र प्रदेश सरकारलाई बलियो बनाउने स्पष्ट खाका नभएको, एक वर्षभित्र कुन-कुन क्षेत्रमा के-कति उपलब्धि हुन्छ भन्ने रेखांकन गर्न नसकिएको आरोप कांग्रेसले लगाएको छ।
संघीय संरचनामा मुलुक रहे पनि नीति तथा कार्यक्रमले तीन तहको सरकार भएको अनुभूति दिन नसकेको तथा पूर्ववर्ती सरकारको जस्तै केन्द्रीकृत नीति अवलम्बन गरिएको ठहर कांग्रेसले गरेको छ।
सरकारले नीति तथा कार्यक्रमका सैद्धान्तिक पक्षबारे प्रमुख प्रतिपक्षी दलसँग छलफल नगरे एकलौटी रूपमा अघि बढेको टिप्पणी कांग्रेसले गरेको छ। सरकारको नीति तथा कार्यक्रमले प्रदेश र स्थानीय सरकारलाई मार्गदर्शन गरी हातेमालो गर्दै अघि बढ्नुपर्ने भए पनि त्यो नभई घोषणपत्रमा सिमित भएकाले जनताको विकास र सम्वृद्धिको सपना साकार पार्न आफूहरूले संसदमा सशक्त आवाज उठाउने निर्णय पनि कांग्रेसले गरेको छ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दे गर्दा सरकारले नियोजित रूपमा नै राष्ट्रियसभा र प्रतिनिधिसभाको अपमान गरेको ठहर पनि कांग्रेसले गरेको छ।
सोमबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्।