राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले नेपाल राख्ने र बचाउने भए संघीयता खारेज गर्नुपर्ने बताएका छन्।
मंगलबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता केसीले उक्त कुरा बताएका हुन्।
नेता केसीले प्रदेश सरकारको कामै नभएको बताए।
‘प्रदेशसभा सांंसद र मन्त्रीको चिया खाने थलोमात्रै भएको छ,’ नेपाली जनतालाई आर्थिक भार मात्रै, सांसदको काम खै ?’ भन्दै उनले प्रदेशसभा खारेज गर्नुपर्ने बताए।
‘हामी सरकारमा जाँदा पनि संघीय प्रणालीको विरोध गर्यौं, संघीयता बोकेर हिँडेका ठेकेदारहरूका मनमा पनि अहिले जौतिल पाकेको छ। मनमा जौतिल पाकेको छ, बाहिर हुन्छ हुन्छ भन्छन् भित्र हुँदैन’, उनले भने।
स्थानीय तह बलियो बनाउनुपर्ने र केन्द्रले धेरै अधिकार राख्न नहुने नेता केसीको सुझाव छ।
नेता केसीले सरकारले ल्याएको नीति तथा कार्यक्रम समाजवाद उन्मुख नभएको प्रतिकृया दिए।
‘शब्दमा समाजवाद भन्ने तर ठोसमा कुनै पनि स्पष्ट नीति आएन,’ उनले भने।
सरकारको नीतिले जनजीविकाको सवाललाई सम्बोधन नगरेको उनले बताए।
सरकारले यातायातको सिण्डिकेट तोडेकोमा धन्यवाद दिँदै उनले अब मुलुकमा १५ मध्ये १४ क्षेत्रमा सिण्डिकेट बाँकी रहेको बताए।
‘अब शिक्षा, स्वास्थ्य, न्यायपालिकामा लगायतको क्षेत्रको सिण्डिकेट अन्त्य गर्नुपर्ने उनले बताए।
केसीले एमाले र माओवादीबीचको एकता संसदीय व्यवस्थाको पक्षपोषण मात्र भएको समेत बताए। सबै कुरा मिलेपछि पार्टी एकता नौलो कुरा नभएको भन्दै उनले नेकपासँग आफ्नो पार्टीको एकता भने नहुने प्रष्ट पारे।