संघीय सरकारले नीति तथा कार्यक्रममार्फत् आगामी पाँचवर्षमा नेपालीको प्रतिव्यक्ती आय दोब्बर बनाउने घोषणा गरेको छ। यो सरकारी घोषणाप्रति सर्वत्र प्रश्न, जिज्ञासा उत्पन्न भएको छ।
सरकारले भनेजस्तै अवका पाँचवर्षमा नेपालीको आय दोब्बर हुन्छ? अहिले एक हजार अमेरिकी डलर रहेको आय अबको पाँचवर्षमा दोब्बर हुनलाई केके आधारहरु चाहिन्छन्?
यस बारेमा हामीले योजना आयोगका पूर्व उपाध्यक्ष डा स्वर्णिम वाग्लेसँग जिज्ञासा राखेका थियौं।
प्रतिव्यक्ती आय दोब्बर हुनको लागि सबैभन्दा पहिले अर्थतन्त्रको आकार बढ्नुपर्छ। अर्थतन्त्रको आर्थिक बृद्धिदर स्थिर मूल्य र चालु मूल्यमा मापन गरिन्छ।
कुन मूल्यमा आय दोब्बर बनाउने भन्ने बारे सरकारले स्पष्ट नपारेकोले यसमा ठोकुवा गरेर भन्न नसकिने वाग्लेको तर्क छ।
‘अहिलेकै मूल्यमा आय दोब्बर भन्न खोजिएका भए त्यसको लागि प्रत्येक वर्ष १४ प्रतिशतले अर्थतन्त्र बढ्नुपर्छ’ वाग्लेले भने,’ त्यति भएर मात्रै पुग्दैन, मूल्य बृद्धि र जनसंख्या वृद्धिदर तोकिएकै फ्रेममा हुनुपर्छ।’
त्यस्तै वास्तविक मूल्यमा भन्न खोजिएको भए, आर्थिक वद्धिदर प्रत्येक वर्ष ८ देखि ९ प्रतिशत हुनुपर्ने वाग्लेको तर्क छ। यस्तो वृद्धिदर असम्भव नभएको उनको भनाइ छ।
आयको वृद्धिदरलाई मूल्यवृद्धि र जनसंख्याको वृद्धिदरले पनि असर पार्ने भएकोले मूल्य वृद्धि ७ प्रतिशतभन्दा तल र जनसंख्या १ प्रतिशत हुनुपर्ने यसका पूर्व शर्त भएको उनले बताए।
सन् २०११ को जनगणनाअुसार नेपालको जनसंख्या वृद्धिदर १.३५ प्रतिशत रहेको छ।
त्यस्तै अर्का अर्थशास्त्री चन्दन सापकाेटाले पाँच वर्षमा प्रतिव्यक्ति अाय २ लाख ६६९ नेपाली रुपैयाँ हुनकाे अायमा अाैसत १४ दशमलब ९ प्रतिशतले बढ्नुपर्ने बताए।
'गएकाे ५ वर्षकाे अाैसत अाय वृद्धिदर १०.७ प्रतिशत रहेकाे छ सरकारी लक्ष्यअनुसार हुनलाई अबका वर्षमा अाैसत १४.९ प्रतिशतले बढ्नुपर्छ'उनले भने।
यी सबै शर्तहरु पुरा भएमा आय वृद्धिको लक्ष्य असम्भव नभएको तर त्यसका लागि सरकारले ठुलै छलाङ मार्नुपर्ने वाग्लेको भनाई छ।
‘यो प्राप्तीका लागि सरकारले ठुलै क्रमभंग गर्नुपर्ने हुन्छ। लगानीको माहोल बनाउने, कर्मचारीतन्त्रलाई उत्प्रेरित गर्ने जस्ता काम गर्नुपर्ने हुन्छ’ उनले भने, ‘एक हिसावले नाटकीय र चामत्कारिक सुधार गर्नुपर्ने हुन्छ।’
यस्तो चमत्कारको आधार भने आजको नीति तथा कार्यक्रममा नदेखिएको पनि उनले बताए।
आर्थिक वृद्धिका लागि सरकारले अहिलेको तुलनामा लगानी पनि दोब्बरले बढाउनुपर्ने उनको भनाइ छ।
अहिले औसतमा कूल ग्राहस्थ उत्पादनको ४.५ प्रतिशत सार्वजनिक पुँजी निर्माणमा लगानी भइरहेको छ। आर्थिक वृद्धिको सरकारी लक्ष्य पुरा गर्न सरकारले प्रत्येक वर्ष अहिलेको लगानी दरलाई ९ प्रतिशतभन्दा माथि पुर्याउनुपर्ने उनको भनाइ छ।
‘आजसम्म नेपालको इतिहासमै नभएको आर्थिक वृद्धि हासिल गर्नको लागि लगानी पनि त्यही अनुपातमा बढाउनुपर्छ। कम्तिमा पनि दोब्बर त पार्नैपर्छ’ वाग्लेले भने, ‘ कूल ग्राहस्थ उत्पादनको १० प्रतिशत सार्वजनिक पुँजी निर्माणमा लगानी हुनपर्छ।’
यस्तो लगानी स्वदेशबाट सम्भव नहुने, विदेशबाट ल्याउनुपर्ने र सरकारले त्यसको वातावरण बनाउनुपर्ने उनको भनाइ छ।
‘त्यत्रो लगानी स्वदेशभित्रैबाट सम्भव छैन विदेशबाट ल्याउनुपर्छ तर सरकारले त्यसको आधार कसरी तय गर्छ? जुन आजको नीति तथा कार्यक्रममा देखिएन’ उनले भने,‘ तर अर्थमन्त्रीलाई बजेट ल्याउन्जेल शंकाको सुविधा दिऔं र बजेटसम्म पर्खौ।’