नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधन गर्ने विषयमा राजनीतिक सहमति भइसकेको बताएका छन्।
संसद भवन बानेश्वरमा सोमबार संवाददातासँग कुराकानी गर्दै अध्यक्ष दाहालले यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि कुरा भइसकेको बताए।
‘मधेसमा सरकार बनाउने पार्टीहरुसँग पनि कुरा भैराखेको छ। प्रधानमन्त्रीजी र मेरोबीचमा केही पार्टी र नेताहरुसँग कुरा हुँदा संविधान संशोधनका विषयमा राजनीतिक सहमति पनि भैसकेको छ', प्रचण्डले भने, 'खाली सरकारमा टेक्ने कुरा मिल्यो भने संविधान संशोधनको विषयमा पनि हामीले जे सहमति गरेका छौँ त्यसमा हस्ताक्षर हुन्छ।'
संघीय समाजवादी फोरमलाई सरकारमा सहभागि गराउने भनिएपनि लामो समयदेखि दुई पक्षबीच समझदारी जुटेको छैन।
नीति तथा कार्यक्रमपछि राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले 'संविधान संशोधन गरिनेछ' भन्ने कुरा नसमेटिएको भन्दै असन्तुष्टि जनाए।
यसअघि गत भदौमा सरकारले दर्ता गरेको संविधान संशोधनको प्रस्ताव तत्कालीन नेकपा एमालेलगायत दल विपक्षमा उभिएका थिए।
मधेसवादी दलले सीमांकन र वैवाहिक अंगिकृत नागरिकतालगायत विषयमा संविधान संशोधन गर्नुपर्ने माग गर्दै आएका छन्।
यसअघि दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले संविधान संशोधनको प्रयास गरेका थिए।
संविधान संशोधन गर्ने तीन बुँदे सहमति गरेर २०७३ साउन १९ गते दाहाल दोस्रो पटक प्रधानमन्त्री निर्वाचित भए।
२०७३ मंसिर १४ गते दाहाल सरकारले संविधानको दोश्रो संशोधन विधेयक दर्ता गरायो। संशोधनमा पाँच नम्बर प्रदेश विभाजन गर्ने प्रस्ताव थियो। साथै भाषा, नागरिकता र राष्ट्रिय सभामा प्रतिनिधित्वको विषय समेटिएको थियो।
तर एमालले संशोधनको विरोध सदनमात्र मात्र गरेन सडक प्रदर्शन समेत गर्यो । नेकपा माओवादी केन्द्र र कांग्रेसका केही सांसद समेत प्रदेशको सीमाङ्कन परिमार्जनमा विरोधमा उत्रिए। २०७३ पुस २२ गते एमालेले प्रतिपक्षी गठबन्धन निर्माण गर्दै राजधानीको भृकुटीमण्डपमा विरोध प्रदर्शन गर्यो।
२०७३ पुस २४ गते सरकारले संसदमा दोश्रो संशोधन विधेयक अगाडि बढायो। संसदमा एमालेको होहल्ला र नाराबाजी सहितको विरोधका बीच टेबल गर्यो।
२०७३ चैत २९ गते सरकारले एमालेको विरोधका बीच मंसिर १४ गते दर्ता भएको संशोधन फिर्ता लिएर सोही दिन अर्को संशोधन दर्ता गरायो।
सो संशोधनमा भाषा, नागरिकता, प्रदेशको सीमाङ्कन र राष्ट्रिय सभामा प्रतिनिधित्व लगायतका विषयमा समेटिएका थिए। अघिल्लो संशोधनमा विरोधमा रहेको मधेसी मोर्चा समेत दोश्रो संशोधनमा केही सकरात्मक देखिएको थियो।
२०७४ वैशाख ९ गते मधेस केन्द्रीत दल र सरकारबीच संशोधन अगाडि बढाउने सहमति भयो। संशोधन परिमार्जन गरेर अगाडि बढ्ने सहमतिसँगै फास्ट ट्र्याकबाट पारित गर्ने समझदारी भयो। फलस्वरुप पहिलो चरणको स्थानीय तहको निर्वाचनको विरोध गरिरहेका मधेस केन्द्रीत दलहरु ‘सफ्ट’ भए। वैशाख ३१ गते पहिलोचरणको स्थानीय तहको निर्वाचन भयो।
मधेस केन्रीो त दलहरुसँगको सहमतिपछि २०७४ वैशाख १३ गते संविधानको दोश्रो संशोधन विधेयक संसदको बैठकबाट बहुमतले स्वीकृत भयो। संशोधन स्वीकृत गर्न कोरम नपुग्दा समेत अबेर राती राती अर्को बैठक राखेर सभामुखले साढे १० बजे संशोधन स्वीकृत गर्ने वातावरण तयार गरिन्।
संशोधन स्वीकृत भएसँगै २०७४ वैशाख १७ गते संविधान संशोधन निर्णयार्थ पेश गर्ने दलहरुले तयारी गरे। ३७ सांसद रहेको राप्रपाका १० सांसद एकाएक संसदीय दलको बैठक र संसद बैठकमा अनुपस्थित भए। संशोधनका लागि दुई तिहाई पुर्याउने सत्तारुढ दलहरुको कसरतमा ब्रेक लाग्यो।
२०७४ जेठ १० गते प्रधानमन्त्री दाहाल प्रचण्डले राजीनामा दिए। उनले वैशाख ३१ गते पहिलो चरणको स्थानीय निर्वाचनपछि राजीनामा दिएका हुन्। पहिलो चरणमा एमाले सबैभन्दा ठूलो दलको रुपमा स्थापित हुन पुग्यो।
२०७४ जेठ २३ गते कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भए। उनले लगत्तै आफ्ना प्राथमिकतामा तीन चरणको निर्वाचन र तराई मधेसका माग सम्बोधन गर्न संविधान संशोधन गर्ने प्रष्ट गरे।
२०७४ जेठ ३१ गते दोश्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भयो। प्रदेश नं ५ सहित प्रदेश १ र ७ मा निर्वाचन भयो। मधेस केन्द्रीत दलहरु फोरम लोकतान्त्रिक र संघीय समाजवादी फोरम पनि निर्वाचनमा सहभागी राष्ट्रिय जनता पार्टी पनि स्वतन्त्र हैसियतमा सहभागी भयो।
२०७४ साउन ९ गते नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले संविधान संशोधन अगाडि बढाउने र पारित गरेर सर्वस्वीकार्यता बढाउने विषयमा एमालेसँग पनि छलफल गर्ने निर्णय गर्यो।
२०७४ साउन ३२ गते संसदमा संविधान संशोधनमाथि दफाबार छलफल सुरु भयो। पेश भएका ५० वटा संशोधन प्रस्तावमाथि सांसदहरुको धारणा राख्ने क्रम सुरु भयो। भदौ ४ गते पनि संशोधन माथि छलफल भयो।
२०७४ भदौ ५ गते सभामुखले ५० संशोधन निर्णयार्थ पेश गरिन्। तर सबै संशोधन अस्वीकृत भए। संविधानको दोश्रो संशोधन प्रयास असफल भयो।
त्यसपछि संविधान संशोधनको मुद्दा राजनीतिको केन्द्रबाट ओझेल परेको थियो।