रौतहट यमुनामाई गाउँपालिकाकी उपप्रमुख गीता साहले प्रमुख विरुद्ध उजुरी दिएकी छिन्।
प्रमुख श्रीप्रकाश मुखिया र गाउँपालिकाका कार्यकारी अधिकृत शिव पुजन यादवले अनियमितता गरेका भन्दै दुबैजना विरुद्ध प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल समक्ष उजुरी दिएकी हुन्।
आर्थिक चलखेलका कारण विभिन्न किसिमका योजना आफू खुसी वितरण गरेको उपप्रमुख साहले आरोप लगाएकी छिन्।
गाउँपालिकाका कुनै पनि योजना र काममा आफूलाई कुनै जानकारी नगराएको र सहभागी हुन समेत सूचना नदिने गरेको उपप्रमुख साहको गुनासो छ ।
यता,सोमबार बिहान गाउँपालिका कार्यालयमा नायव सुब्बा टीका भण्डारीलाई उपप्रमुख गीता साहले गाली गरेको भन्दै कर्मचारीहरूले उपप्रमुख साह विरुद्ध कालोपट्टी बाधेर काम गरेका छन्।
विवादको विषयमा गाउँपालिका अध्यक्ष मुखिया तथा अधिकृत यादवसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।