संघीय समाजवादी फोरम नेपालले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमण अस्वीकृत गरेको विषयलाई 'मिडियाबाजी' गरिएको प्रति आपत्ति जनाएको छ।
वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै फोरमले नरेन्द्र मोदीको भ्रमणका बेला मुख्यमन्त्री राउतको अभिव्यक्तिलाई लिएर प्रतिशोध स्वरुप भ्रमण रद्द गरिएको जनाएको छ।
फोरमका पर्सा जिल्ला अध्यक्ष प्रदिप यादवले भ्रमण अस्वीकृत गर्ने केन्द्र सरकारको अधिकार भएपनि भारतीय प्रधानमन्त्री आएका बेला दिएको अभिव्यक्तिका कारण रोकिएको बताए।
'मिडियाबाजी भयो। प्रतिशोधको भावना साँधियो', यादवले भने, 'मुख्यमन्त्रीलाई आफ्नै देशमा अपमानित गर्न खोजियो।'
सञ्चार राज्यमन्त्रीको अभिव्यक्तिको विरोधमा पत्रकारका सम्मेलन गर्न बाध्य भएको यादवले बताए। मन्त्रिपरिषद्को निर्णय सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले सार्वजनिक गरेका थिए।
'यो निर्णय सच्याउनुपर्छ', यादवले भने, 'जुन निर्वाचनबाट प्रधानमन्त्री केपी ओली बन्नु भएको छ। राउत सोही प्रक्रियाबाट मुख्यमन्त्री बन्नु भएको छ। तर अहिले अपमानित गर्ने काम भयो।'
'मेरो मुख्यमन्त्री राउतसँग पनि कुरा भयो। उहाँले हेर्दै जाउँ कतिसम्म पेल्छन्। दु:ख दिन्छन्। अनि रणनीति बनाउँला भन्नुभयो', यादवले कुराकानी उदृत गर्दै सेतोपाटीसँग भने, 'मधेसीको नाममा कार्यक्रम भएकाले उहाँ जान खोज्नु भएको थियो।'
यादवले नीति तथा कार्यक्रम र बजेट निर्माण गर्नुपर्ने भएकाले जान नहुने निर्णय उचित ठहर्याउन सकिएपनि मिडियाबाजी र अपमान गर्ने काम उचित ठहर्याउन नसकिने तर्क गरे।
मुख्यमन्त्री राउतलाई अमेतरिकामा जनरल कन्भेन्सन अफ मधेसी एशोसिएन इन अमेरिका भन्ने संस्थाले भ्रमणको निम्तो पठाएको थियो। प्रदेश २ को मन्त्रिपरिषद्ले भ्रमण स्वीकृत गरेर केन्द्र सरकारमा पठाएको थियो। तर केन्द्र सरकारले आइतबार साँझ भ्रमण अस्विकृत गरिदिएको थियो।