नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले पार्टी एकताको क्रममा वरियता मिचिएको भन्दै असुन्तुष्टि जाहेर गरेका छन् ।
गृह जिल्ला दाङमा नेकपा एमालेका पूर्व उपाध्यक्ष ज्ञवालीले सेतोपाटीसँगको संवादमा वरियता निर्धारण गर्दा विवेकसम्वत र चित्त बुझ्दो ढंगले नगरिएको बताए ।
‘विद्या भण्डारी राष्ट्रपति भएपछि पार्टीमा म ५ औं रोलक्रममा थिए र त्यो आधारमा हेर्दा आज म माथि अवस्यपनि अन्याय भएको छ ’ ज्ञवालीले भने ।
उनले वरियता मिचिएको हुँदा आफु लगायत अन्य केही साथीहरुमाथि अन्याय भएको बताए ।
‘वरियता निर्धारण चित्त बुझ्दो छैन’, नेता ज्ञवालीले थपे ‘ म यसवाट सन्तुष्ट अवस्य पनि छैन ।’
पूर्व मन्त्री समेत रहेका ज्ञवालीले आगामी स्थायी कमिटीको बैठकमा कुरा उठाउने जानकारी दिए । तर उनले पार्टी भित्रको पद र वरियताको लागि आफुले कसैलाई भनसुन नगरेको तथा अव पनि नगर्ने स्पष्ट पारे ।
‘पार्टीले जे जस्तो जिम्मेवारी सुम्पिएको छ, म त्यसलाई इमान्दारी पूर्वक, निष्ठा पूर्वक निर्वाह गर्ने छु । कामगर्नेलाई पद नै चाहिन्छ भन्ने छैन’, ज्ञवालीले भने ।
तर उनले कमरेड झलनाथ, भिमरावल, ईश्वर लगाएतका साथीहरुले पनि असुन्तुष्टि जाहेर गरेको कुरा सार्वजनिक हुन थालेको हुँदा पार्टी एकीकरण गर्दा जेष्ठता र योगदानको सही रुपमा मुल्याङकन गरिदिएको भए आज यस्तो स्थितिको सृजना नहुने उनको भनाइ थियो।
आगामी महाधिवेशनबाट अध्यक्षमा पुष्पकमल दाहाल वा माधव कुमार नेपाल को आउनुपर्छ ? भन्ने प्रश्नमा भने उनले त्यसको छिनोफानो सहमति मै हुने बताए ।
‘फेरि केपी ओलीजी नै अध्यक्षको लागि तयार हुनु भएछ भने आश्चर्य नमान्दा हुन्छ’, उनले भने ।
सोमवार आउने नीति तथा कार्यक्रम समाजवाद प्राप्तीको आधारमा आउनुपर्ने उनले बताए । कृषि उत्पादनको वृद्धि गरि विदेशी आयात घटाउन सकेमात्रै देशको आर्थिक मेरुदण्ड मजवुत हुन सक्ने उनको तर्क छ ।
त्यस्तै शिक्षा, स्वास्थ्यदेखि सामाजिक विकासलाई आधार मानेर नीति तथा कार्यक्रम आउनुपर्ने बताए । निर्वाचनमा उठाएको संवृद्धिको सपना पुरा गर्ने गरि नीति तथा कार्यक्रम आउनुपर्ने ज्ञवालीले बताए ।
त्यस्तै उनले प्रदेश नं. ५ को स्थायी राजधानी सहमतिका आधारमा दाङलाई बनाउनु पर्ने धारणा राखे ।