कर्णाली प्रदेशको मन्त्रीपरिषद् बैठकले विभिन्न ६ वटा निर्णय गरेको छ ।
आईतबार दिउँसो बसेको बैठकले बैठकले हुम्ला जिल्लाको खार्पुनाथ गाँउपालिकाको वामनखर्कमा गत साता भएको मकालु एअरको जहाज दुर्घटनामा मृत्यु भएका चालक किरण भट्टराई र सहचालक आदित्य नेपालीप्रति श्रद्धाञ्जली अर्पण तथा परिवारजनमा समवेदना प्रकट गर्ने निर्णय गरेको छ ।
कर्णाली प्रदेशका विकट जिल्लाहरुमा उडान भर्दै चालकहरुले पुर्याएको योगदानको कदर गर्नेगरि आवश्यक व्यवस्थाका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।
यस्तै मन्त्रीपरिषद बैठकले लागूऔषध नियन्त्रणसम्बन्धी विधेयक तर्जुमा गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गर्ने, कर्णाली प्रदेश सरकारले निर्माण गर्नुपर्ने आवश्यक कानुनको मस्यौदा तयारीमा सहयोग पु¥याउनका लागि यथासिघ्र प्रादेशिक कानुन आयोग गठन गर्ने पनि निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिईन् ।
यस्तै कर्णाली प्रदेश विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनसम्बन्धी विधेयक २०७५ तर्जुमाका लागि कानुन मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने, विनियोजन विधेयक २०७५ प्रदेश सभामा पेश गर्नुपुर्व बजेटका सिद्धान्त, उद्देश्य, प्राथमिकता र नीतिहरु आवश्यक परिमार्जनसहित पुर्व बजेट छलफलका रुपमा पेश गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयलाई स्वीकृती दिने निर्णय पनि मन्त्रीपरिषद्को बैठकले गरेको छ ।
बैठकले कर्णाली प्रदेशको आर्थिक, सामाजिक विकास मार्गचित्र २०७५ परिस्कृत गर्न कानूनमन्त्री नरेश भण्डारीको नेतृत्वमा समिति गठन गरी जिम्मेवारी दिने निर्णय पनि गरेको प्रवक्त केसीले बताइन् ।