राष्ट्रिय झण्डाको स्वरूप विगारेको भन्दै सोधिएको स्पष्टिकरणको जवाफ प्रदेश नम्बर २ का कर्मचारीले मन्त्रालयमा पठाएका छन्।
चार जना कर्मचारीले पठाएको लिखित जवाफ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसमक्ष पेश गरिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बताए।
‘कर्मचारीले पठाएको स्पष्टिकरणबारे मन्त्रीज्यूलाई बिफ्रिङ गरिएको छ,' उनले भने, 'थप के गर्ने? भन्ने निर्णय केही भएको छैन।'
प्रदेश २ का सचिव हरि फुयाँल, धनुषाका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुली, जनकपुर उपमहानगरपालिका प्रमुख कार्यकारी अधिकृत मदन घिमिरे र आन्तरिक मामिला मन्त्रालयका सचिवलाई स्वरूप विगारिएको झण्डा कसले?, कुन प्रयोजनका लागि राखेको? भन्ने खुलाउन मन्त्रालयले स्पष्टिकरण सोधेको थियो।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले जनकपुरमा रामायण सर्किट उद्घाटन गर्दा स्वरूप बिग्रिएको झण्डा राखिएको भन्दै आलोचना हुँदै आएको छ।
स्पष्टिकरणमा कर्मचारीहरूले कसले झण्डा राखेको हो? भन्ने हेक्का नभएको उल्लेख गर्दै मिडियामा समाचार आएपछि मात्रै आफूहरूले जानकारी पाएको बताएका छन्।