नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट कर्मचारी संगठन राष्ट्रिय कर्मचारी महासंघले स्वेच्छिक अवकाश प्रक्रिया अघि बढाउन माग गरेको छ।
सरकारले कर्मचारीको स्वेच्छिक अवकाश रोकेर निजामति प्रशासन सुधारको भावना विपरीत काम गरेको भन्दै अबिलम्व अवकाश प्रक्रिया अगाडि बढाउन महासंघले माग गरेको हो।
महासंघका अध्यक्ष गोपालसिंह धामी र महासचिव अमरसिंह वलीले आइतबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, 'कर्मचारी समायोजन ऐनको दफा १३ बमोजिम स्वेच्छिक अवकाशको सम्बन्धमा ऐनबाट आएको व्यवस्थालाई रोक्ने कार्य समग्र निजामति प्रशासन सुधारको भावना प्रतिकूल छ।'
राष्ट्रसेवक कर्मचारीलाई अपमान नगरी सार्वभौम संसदले बनाएको ऐनअनुसार ससम्मान स्वेच्छिक अवकाशको लागि प्रक्रिया बढाउन विज्ञप्तिमा माग गरिएको छ।
स्थानीय र प्रदेश सरकार मातहत खटिने कर्मचारीलाई सेवा सुविधा थप गर्न पनि महासंघले माग गरेको छ।