नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान नेकपा नेतृत्वको सरकारका काम कारवाहीप्रति असन्तुष्टि जनाएका छन्।
एमाले र माओवादी एकताको आडमा सरकारले दुई तिहाईको ‘दम्भ’ देखाएको उनले बताए।
नेपाल तरुण दल कास्कीको भेलामा आइतबार बोल्दै पौडेलले एकताको आडमा सरकारले गलत काम गरे आफूहरूले कडा प्रतिवाद गर्ने बताए।
गृह प्रशासन हुकुमी शैलीमा अघि बढेको उनले बताए।
उनले भने, 'सडक निर्माणमा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई कारवाही गर्ने अधिकार भौतिक पूर्वाधार मन्त्रालयलाई छ। तर, यसलाई बेवास्ता गर्दै गृहमन्त्रीको हुकुमी शैलीमा भनाइ आउनु राम्रो होइन।'
गल्ती गर्नेलाई कानूनअनुसार नै कारवाही गर्नुपर्ने उनले बताए। फौजदारी अभियोग लागेका सांसदलाई नियमावलीअनुसार नभई ऐन कानूनमार्फत् नै कारवाहीको दायरामा ल्याउन उनले आग्रह गरे।
फरक प्रसंगमा उनले पुरानै शैलीबाट कांग्रेस अघि बढ्न नसक्ने बताउँदै पार्टीले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्दै आगामी निर्वाचनमा बहुमत ल्याउने गरी संगठन सुधारजस्ता काम गर्नुपर्नेमा जोड दिएका छन्।