युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले युवाहरूलाई राष्ट्र निर्माणमा सहभागी गराउन सरकारले आवश्यक नीति तथा कार्यक्रम तर्जुमा गरिरहेको बताएका छन्।
मन्त्री विश्वकर्माले मुलुकलाई विकास र समृद्धिको बाटोमा अघि बढाउने राष्ट्रिय संकल्प पुरा गर्न युवाहरूलाई परिचालन गर्नुको विकल्प नरहेको पनि स्पष्ट पारे।
उनले मुलुकलाई समृद्धिका लागि मुलुकका सबै सामर्थ्य परिचालन गर्ने पनि बताए। मन्त्री विश्वकर्माले मुलुकलाई १० वर्षभित्र विकासशील राष्ट्र बनाउने लक्ष्य पुरा गर्न सरकार लागि परेको पनि स्मरण गराए।
आइतबार काठमाडौंमा आयोजित ‘युवा कृषि उद्यम सम्मेलन’ लाई सम्बोधन गर्दै उनले मुलुकलाई समृद्ध बनाउने राष्ट्रिय लक्ष्य पुरा गर्ने दिशामा प्रतिबद्ध भएर अघि बढ्न पनि युवाहरूलाई आह्वान गरे।
मन्त्री विश्वकर्माले युवाहरूलाई सक्षम बनाएर राष्ट्र निर्माणको अभियानमा अग्रसर गराउन सरकार केन्द्रीत रहेको बताए। उनले कृषि क्षेत्रलाई आधुनिकीकरण गरेर पनि युवाहरूको रोजगारीको अवसर सृजना गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
मन्त्री विश्वकर्माले सरकारले कृषि क्षेत्रलाई प्रविधि मैत्री बनाएर लैजान चाहेको पनि बताए।