नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले दुई ठूला पार्टीको एकताले नेपाली कांग्रेसलाई असर नपर्ने बताएका छन्।
तरुण दल काठमाडौंले शनिबार काठमाण्डौमा गरेको जिल्लास्तरीय सम्मान तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले दुई ठूला पार्टी मिल्दैमा नेपाली कांग्रेसको आस्था र वजनमा कमी नआउने बताएका हुन्।
उनले नेपाली कांग्रेसको मूल्य, मान्यता र सिद्धान्तलाई केन्द्रविन्दुमा राखेर काम गर्न सक्ने हो भने फेरि पनि जनताको विश्वास आर्जन गर्न सकिने उनको भनाइ थियो। विगतमा मुलुकका ठूला-ठूला परिर्वतनमा नेपाली कांग्रेसले अग्रणी भूमिका निर्वाह गरेको भन्दै उनले नेतृत्व तहबाट नै पार्टीको आर्दश र सिद्धान्तलाई केन्द्रमा राखेर काम गर्ने हो भने फेरि पनि जनताले कांग्रेसलाई ठूलो पार्टीको रूपमा स्थापित गराउने दाबी गरे।
नेता सिंहले स्पष्ट बहुमत रहेको भन्दै घमण्ड गर्नुको सट्टा विधि, विधान र प्रक्रिया सम्मत ढंगले अघि बढ्न सरकारलाई सचेत गराए। उनले संघीय संसद कार्यसञ्चालन नियमावलीमा सत्तारुढ दलले सहमति तोडेर बहुमतको अहम् देखाएको टिप्पणी गरे।
मस्यौदा समितिमा सहमति भइसकेका विषयमा संशोधन प्रस्ताव दर्ता गरेर सत्तारुढ दलले नेपाली कांग्रेसका बारेमा भ्रम फैलाउने काम गरेको आरोप लगाए।
यातायात व्यवसायीलाई तर्साउने, धम्काउने र हत्तोत्साही गर्ने सरकारी गतिविधिको विरोध गर्दा कांग्रेस सिण्डिकेट पक्षधर भनी आरोप लगाउने काम भएको टिप्पणी गरे।