भारतको दक्षिणी राज्य कर्नाटकमा भारतीय जनता पार्टीका मुख्यमन्त्री बीएस येदियुरप्पाले राजीनामा दिएका छन्।
राज्य सरकार गठनका लागि विश्वासको मत प्राप्त नहुने भएपछि मुख्यमन्त्री भएको ५५ घण्टामै उनले राजिनामा दिएका हुन्।
येदियुरप्पाले १५ दिनभित्र विधानसभामा आफ्नो पक्षमा बहुमत देखाउनु पर्ने थियो।
वैशाख २९ गते विधान सभाका २२४ मध्ये २२२ मा मतदान भएको थियो। सो चुनावमा भाजपाले १०४, कंग्रेसको ७८ र जनता दल (सेक्युलर) ले ३७ सिट जितेका थिए। अन्य दल तथा स्वतन्त्रले तीन सिट जितेका छन्।
शनिबार ४ बजेसम्म राज्य सरकार बनाउन विश्वासको मत लिनुपर्ने थियो। सरकार बनाउन ११२ सिटको आवश्यक पर्थ्यो। बहुमत पुर्याउन नसकेपछि उनले राजीनामा दिएका हुन्।