रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सार्वजनिक महत्त्वका कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका जारी गरेको छ।
नगरपालिकाभित्र सञ्चालन हुने सबै प्रकारका सार्वजनिक महत्त्वका कार्यक्रमलाई उपलब्धिमुलक, मितव्ययी, छिटो छरितो र समयसापेक्ष बनाउन निर्देशिका जारी गरिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए।
नगर कार्यपालिकाको २२ औं बैठकबाट पारित निर्देशिका स्थानीय राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउने छ। निर्देशिकामा कार्यक्रम तोकिएको समयमै सुरू गर्नुपर्ने, वक्ताहरूले सम्बन्धित विषयमा बुँदागत रूपमा मन्तव्य राख्नुपर्ने, उद्घोषकले आफ्नो मन्तव्य नराखी कार्यक्रम मात्र सञ्चालन गर्नुपर्ने, एउटा वक्ताले गरेको कुरा अर्को वक्ताले दोहोर्याउन नहुने उल्लेख गरिएको छ।
मञ्चमा अध्यक्ष, प्रमुख अतिथि र वक्ता अतिथिहरूलाई मात्र स्थान दिनुपर्ने, स्वागत तथा सम्मानका लागि स्थानीयस्तरमा उपलब्ध हुने फूलको माला तथा गुच्छाको मात्र प्रयोग गर्नुपर्ने पनि निर्देशिकामा उल्लेख छ।
साधारणसभा, अधिवेशन लगायतका संस्थाको आन्तरिक विषयमा बढी केन्द्रीत हुनुपर्ने कार्यक्रमका उद्घाटन सत्रहरू बढीमा डेढ घण्टामा सक्नुपर्ने, विद्यालयहरूले अतिथिहरूको स्वागत तथा सत्कारका लागि विद्यार्थीलाई उभ्याउन नपाउने पनि निर्देशिकामा उल्लेख छ।
‘सार्वजनिक महत्त्वका सबै प्रकारका कार्यक्रम, बैठक, सभा, समारोह, उत्सवलाई समयमा नै सम्पन्न गरी अन्य कार्यमा प्रतिकूल प्रभाव पर्न नदिने व्यवस्था मिलाउन र बैठक तथा कार्यक्रम विषयवस्तुमा केन्द्रीत भई छलफल तथा निर्णयमा पुग्न सक्ने व्यवस्था गर्न निर्देशिका जारी गर्नुपरेको हो’, नगरपालिकाले भनेको छ।
निर्देशिकाको पालना नगरपालिका र यस अन्तर्गतका सम्पूर्ण कार्यालय, सरकारी, सामुदायिक, गैरसरकारी सबै निकाय, संघसंस्था, क्लब, सहकारी, वन, शिक्षण संस्था, टोलविकास संस्था लगायतले गर्ने नगरपालिकाले जनाएको छ।
नगरपालिकाको २२ औं बैठकले नगरभित्र निर्माण हुने भवनहरूको नक्सा, खेल मैदान, विपद् व्यवस्थापन समिति गठन, सांस्कृतिक भवन निर्माण, रिङरोडको रुट, अटो जोन लगायतका अन्य विषयमा महत्त्वपूर्ण निर्णय गरेको कार्यपालिका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए।