नेकपा एमाले र माओवादी केन्द्रको एकता पछि बन्ने नयाँ दल दर्ता हुन अझै केहि दिन लाग्ने निर्वाचन आयोगले बताएको छ।
आज दल दर्ताको लागि आएको निवेदनमात्र दर्ता हुने निर्वाचन आयोगका उपन्यायाधीवकता घनश्याम ओझाले सेतोपाटीलाई जानकारी दिए।
एकिकृत पार्टी दर्ता गर्न केहीबेरमा नेताहरु आयोग जाने कार्यक्रम छ। आयोगलाई ३ बजेको समय दिएपनि अझै उनीहरु आयोग पुगेका छैनन्।
‘उहाँहरुले ३ बजे नै आइपुग्छौं भन्नुभएको थियो। अहिलेसम्म आउनुभएको छैन,’ ओझाले भने, 'उहाँहरु आउनुभयो भने, आजै दल दर्ता होइन निवेदन दर्ता हुने हो। त्यसपछि मात्र दल दर्ताको प्रकृया सुरु हुन्छ।'
पार्टी दर्ताका लागि पार्टीको नाम, चुनाव चिह्न, झन्डा, केन्द्रीय सदस्य संख्या लगायतको विस्तृत जानकारी आयोगमा बुझाएपछि प्रकृया सुरु हुन्छ। आयोगले ति सबै कागजात हेरेर कानुन र प्रमाण पुगेको रहेछ भने मात्र नयाँ दल दर्ता गर्ने निर्णय गर्ने छ।
दुवै दलले एकता पछि बनेको दलको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने सहमति गरेका छन्। तर, नेपाल कम्युनिष्ट पार्टीको नाममा अर्कै दल दर्ता छ।
नयाँ पार्टीको नाम जुधेपछी आयोगले पुरानो दलबारे खोजी गर्ने छ। त्यो दल अध्यावधिक छ कि छैन भनेर हेर्ने छ।
पुरानो दल अध्यावधिक छ, कारबाहीमा परेको छैन भने एमाले-माओवादी मिलेर बनेको दलले नेपाल कम्युनिष्ट पार्टी नाम राख्न पाउने छैन।
‘त्यो नामको पुरानो दलको मापदण्ड पुगेको छ/छैन हेर्छौं। पुगेको छैन भने दल स्वत: खारेज हुन्छ,नयाँ पार्टीले नाम पाउँछ,’ उपन्यायधिवक्ता ओझाले भने। यो सबै प्रकृया पुराउन केहि दिन लाग्ने उनले बताए।