गृहमन्त्री रामबहादुर थापा‘बादल’को निर्देशनपछि आज गृहमन्त्रालयले भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर लापरवाही ढंगले काम गर्ने कम्पनी र ठेकेदारहरूको सूची बनाएर एक हप्ताभित्र पठाउन देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेको छ।
निर्माणको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने तथा सम्पन्न गरेका कामहरू पनि कमसल हुने गरेको गुनासो बढ्दै गएपछि बिहिबार विभिन्न मन्त्रालयका पदाधिकारीसहितको बैठकमा गृहमन्त्रीले यस्तो सूची बनाउन निर्देशन दिएका थिए।
गृहमन्त्री बादलको निर्देशन अनुरुप आज गृह मन्त्रालयले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीहरूलाई पठाएको परिपत्रमा भनिएको छ,‘ जिल्लास्तरमा सञ्चालित विकास निर्माण, सबै आयोजना, परियोजनाको अनुगमन गरी विवरण संकलन गर्ने, समयमै कार्य सम्पन्न नगर्ने फर्म, ठेकेदारको ठेगाना, सम्पर्क नम्बर समेतका विवरण एक हप्ताभित्र तयार गरी मन्त्रालयमा सफ्ट कपी सहित पठाउने।’
गृहमन्त्रालयले यस्तो सूची आइसकेपछि उनीहरूमाथि कारवाही गर्ने तयारी गरेको छ। गृहमन्त्री थापाले त्यस्ता कम्पनी, ठेकेदारलाई समयसीमा दिएर काम सम्पन्न गर्न समय दिने र सो अवधिमा काम सम्पन्न नगरे पक्राउ गर्न बिहिबारको बैठकमा निर्देशन दिएका थिए।
ट्राफिक नियममा कडाइ सुरूबिहिबारको बैठकमा गृहमन्त्री बादलले सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालनाका लागि कडाइका साथ लाग्न ट्राफिक प्रहरीलाई निर्देशन दिए लगत्तै ट्राफिक नियममा आजदेखि कडाइ सुरू भएको छ।
काठमाडौं उपत्यकामा आजदेखि नै तीन पाङ्ग्रे टेम्पुहरूमा सिट संख्याभन्दा बढी यात्रु राख्न नपाइने व्यवस्था कडाइका साथ लागू गरिएको छ। आगामी आइतबारदेखि माइक्रोमा समेत सिट संख्या भन्दा बढी यात्रु राख्न नपाउने व्यवस्थालाई कडाइपूर्वक लागू गर्न लागिएको महानगरी ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
यस्तै, मिटरमा चल्न नमान्ने ट्याक्सी र मिटर जडान नगरेको ट्याक्सीलाई समेत ट्राफिकले कारवाही सुरू गरेको छ। मिटर जोड्न बाँकी रहेका ट्याक्सीको विवरण गुणस्तर विभागबाट आजै ट्राफिक महाशाखाले मगाएको छ। त्यस्ता ट्याक्सीलाई कारवाही गर्ने तयारी महाशाखाले गरेको छ।
ट्राफिक जरिवाना बढ्दै ट्राफिक नियम उल्लङ्घन गर्दा तिराइने जरिवाना कम रहेको कारण सवारी चालकले ट्राफिक नियम उल्लङ्घन बढी गर्ने गरेको गुनासो बिहिबारको बैठकका सहभागीहरूले गरेपछि गृहमन्त्री बादलले आवश्यकता अनुसार जरिवाना शुल्क समेत बढाउन निर्देशन दिएका थिए।
हाल ट्राफिक नियम उल्लङ्घन गर्दा पाँच सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्म मात्रै जरिवाना रहेकोमा यसलाई बढाएर रु तीन हजार देखि पाँच हजार सम्म पुर्याउने प्रक्रिया यातायात व्यवस्था विभागले सुरू गरेको छ।
ट्राफिक नियमलाई कडाइ गर्न सके सवारी जामको समस्या र दुर्घटनाको घटनामा उल्लेख्य कमी आउने ठहरसहित ट्राफिक जरिवाना बढाउन लागिएको हो। सिंहदरबारभित्र निश्चित ठाउँमा मात्रै पार्किङ सिंहदरबारभित्र जथाभावी सवारी पार्किङका कारण कुरुप देखिएपछि अब निश्चित ठाउँमा मात्रै सवारी पार्किङको व्यवस्था गर्न लागिएको छ।
यसका लागि सिंहदरबारभित्र पार्किङका लागि उपयुक्त स्थानहरूको खोजी भइरहेको छ। पार्किङस्थलको पहिचान भए लगत्तै मन्त्री बाहेक अन्यको गाडि पार्किङस्थलमा मात्रै राख्ने गरी आवश्यक तयारी भइरहेको छ।